रणभूमी सम्वाददाता शुक्रबार, मंसिर २६, २०८२
बिराटनगर / जिल्ला मोरङको बिराटनगर–४ नोबेल अस्पताल अगाडि लागूऔषध नियन्त्रण व्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२ बजेर ३० मिनेटतिर सडक छेउमा शंकास्पद रूपमा दुई मोटरसाइकल रोकिराखी गफ गर्दै बसेका व्यक्तिहरूलाई तलासी गर्दा लागूऔषध फेला परेको थियो।
को २७ प ६४८१ नम्बरको मोटरसाइकल चालक, सुनसरी हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँन को साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १३१ ग्राम बरामद भएको प्रहरीको भनाइ छ।
त्यसैगरी BR 19Y 9053 नम्बरको मोटरसाइकल चालक, बिराटनगर महानगरपालिका–४ का ३० वर्षीय इरसाद आलम पनि घटनामा संलग्न रहेको ठहरिएको प्रहरीले जनाएको छ। दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले लागूऔषध कारोबार न्यूनीकरणका लागि नियमित गस्ती र निगरानी अझ कडाइका साथ जारी राख्ने जनाएको छ।