३० पुष २०८२, बुधबार
Tags

रानी ईलाकाबाट अवैध माछा र तस्करीको सामान सहित एक जना पक्राउ

रणभूमी सम्वाददाता बुधबार, पुष ३०, २०८२

बिराटनगर / इलाका प्रहरी कार्यालय रानीले बुधवार विहान गस्ती गर्ने क्रममा अवैध माछा र भारतीय खाद्यान्नसहितको सामान बरामद गरेको छ। दुई फरक स्थानमा गरिएको कारबाहीमा जम्मा २ लाख ८ हजार ७६० रुपैयाँ बराबरको सामान बरामद भएको छ।

प्रहरी नायब निरीक्षक तिलक कार्कीको कमाण्डमा निस्केको गस्ती टोलीले बुधवार बिहान साढे १० बजे बिराटनगर महानगरपालिका–१६ दरैयामा को १९ प १३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको ८० केजी रहु र बिकासी जलकपुर माछा फेला पारेको छ।

मोटरसाइकलको पछाडि दुई कार्टुनमा बरफ राखी लोड गरिएको अवस्थामा भेटिएको माछाको मूल्य २४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित जम्मा ७४ हजार रुपैयाँ बराबरको सामान बरामद भएको हो। मोटरसाइकल चालक बिराटनगर महानगरपालिका–६ बस्ने २१ वर्षीय बिक्की सहनीलाई नियन्त्रणमा लिइएको छ।

बरामद माछा पशु क्वारेन्टाइन कार्यालय विराटनगरको निर्देशन अनुसार खाडल खनी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यस्तै, प्रहरी निरीक्षक कबिन राईको कमाण्डमा खटिएको गस्ती टोलीले पौने सात बजे बिराटनगर महानगरपालिका–१४ जतुवास्थित सडक किनारामा परालको कुन्युमा लुकाइछिपाई राखिएको अवैध सामान बरामद गरेको छ।

बेवारिसे अवस्थामा परालले छोपेर राखिएको १२ कार्टुनमा २८८ बट्टा रसगुल्ला, ३ बोरामा चिनी र ग्यास चुलोका विभिन्न पर्टस फेला परेको प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य १ लाख ३४ हजार ७६० रुपैयाँ रहेको छ।

बरामद सामान भन्सार कार्यालय रानीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्