३० पुष २०८२, बुधबार
Tags

टिचिङ अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा उपचार सेवा बन्द गर्ने

रणभूमी सम्वाददाता बुधबार, पुष ३०, २०८२

काठमाडौँ / त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गत प्रदान हुँदै आएको सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ।

अस्पतालले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डबाट उपचार खर्चबापतको रकम समयमै भुक्तानी नहुँदा सेवा निरन्तर सञ्चालन गर्न असम्भव बनेको जनाएको छ। बीमा सेवाबाट उपचार गराउने बिरामीको संख्या र चाप बढ्दै गए पनि आवश्यक रकम उपलब्ध नगराइएकाले अस्पताल ठूलो घाटामा परेको दाबी गरेको छ।

सूचनामा उल्लेख भएअनुसार बीमा बोर्ड र अस्पतालबीचको दररेट फरक हुँदा समस्या झन जटिल बनेको छ। अस्पतालले विगत दुई वर्षदेखि आफ्ना दररेटलाई अन्तिम मान्यता दिन आग्रह गर्दै आए पनि त्यसतर्फ कुनै सुनुवाइ नभएको जनाइएको छ। आन्तरिक स्रोतबाटै दैनिक सम्पूर्ण खर्च व्यहोर्नु पर्दा मासिक करिब दुई करोड रुपैयाँ घाटा सहँदै बीमा कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको अस्पतालको भनाइ छ।

अस्पतालका अनुसार मासिक करिब पाँच करोड रुपैयाँ खर्च हुने गरे पनि बोर्डले दाबी रकमको करिब ५० प्रतिशत मात्र स्वीकृत गर्दै बाँकी अस्वीकृत गर्ने गरेको छ। हालसम्म अस्पतालको स्वास्थ्य बीमा दाबी रकम करिब ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जनाइएको छ।

टिचिङ अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा सञ्चालन गर्दै आएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्