३० पुष २०८२, बुधबार
Tags

सीमा सुरक्षामा नेपाल–भारत समन्वय मजबुत, अवैध गतिविधिमाथि कडाइ गर्ने सहमति

रणभूमी सम्वाददाता बुधबार, पुष ३०, २०८२

विराटनगर / भारत–नेपाल सीमा क्षेत्रमा देखिने अवैध गतिविधिलाई नियन्त्रण गर्न नेपालतर्फबाट पनि समन्वय र सहकार्यलाई थप मजबुत बनाइने भएको छ। सीमा सुरक्षालाई शान्त, सुरक्षित र व्यवस्थित राख्न नेपाल र भारत दुवै देशका प्रशासन, सुरक्षा निकाय र गुप्तचर संस्थाबीच निरन्तर समन्वय आवश्यक रहेको निष्कर्षसहित भारत–नेपाल समन्वय समितिको बैठक सम्पन्न भएको हो।

भारततर्फको आईसीपी जोगबनीमा सम्पन्न बैठकमा नेपालको तर्फबाट मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहभागी थिए। बैठकको सुरुआत नेपाल र भारतका राष्ट्रिय गानबाट गरिएको थियो।

बैठकमा सीमा क्षेत्रसँग जोडिएका संवेदनशील र समसामयिक विषयमा गम्भीर छलफल भएको थियो। आगामी नेपाल निर्वाचनलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा पर्ने प्रभाव, नो म्यान्स ल्यान्डमा भइरहेको अतिक्रमण, हालै धनुषा जिल्लामा देखिएका घटनाको सन्दर्भमा साम्प्रदायिक अवस्थाबारे छलफल गरिएको थियो। त्यसैगरी लागुऔषध तस्करी, मानव तस्करी, दोहोरो नागरिकता, गुप्तचर सूचना आदानप्रदान, सीमा स्तम्भको रंगरोगन तथा मर्मतसम्भार, एसएसबीकी महिला अधिकृतसँग भएको झडपपछि तस्कर फरार भएको घटनालगायत विषयमा दुवै देशका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए।

नेपालका मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रको वर्तमान अवस्था, चुनौती र आवश्यक समन्वयबारे विस्तृत जानकारी गराएका थिए। बैठकमा भारतका अररिया जिल्लाका जिलाधिकारी विनोद दूहनले लागुऔषध तस्करी, मानव तस्करीलगायत सबै किसिमका गैरकानुनी गतिविधिमाथि कडाइका साथ नियन्त्रण गरिने स्पष्ट पारे।

बैठकले भारत–नेपाल सीमा क्षेत्रलाई सुरक्षित, शान्त र सहज बनाउन संयुक्त प्रयासलाई निरन्तरता दिने सहमति जनाएको छ। सहभागीहरूले यस किसिमको नियमित समन्वय बैठकले सीमा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

बैठकमा एसएसबी ५६औँ बटालियनका कमाण्डेन्ट, एसएसबीका वरिष्ठ अधिकारीहरू, नेपालका मोरङ र सुनसरी जिल्लाका प्रहरी उपरीक्षकहरू, गुप्तचर निकायका प्रतिनिधि तथा फारबिसगञ्जका अनुमण्डल पदाधिकारी र प्रहरी पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्