रणभूमी सम्वाददाता शनिबार, माघ ०३, २०८२
विराटनगर / मोरङमा जुवा खेल्दै गरेका चार जनालाई प्रहरीले नगद र ताससहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिति २०८२/१०/०२ गते राति करिब ८ बजे मोरङ ग्रामथान गाउँपालिका–४ स्थित बाँसझ्याङ्गामा जुवा खेल भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट १६ थान जुवा (कौडा), तास र नगद ३ लाख २१ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ५७ वर्षीय जयकिशोर साह, भोजपुरको षडानन्द नगरपालिका–३ का ५६ वर्षीय हेमन्त राई, मोरङको कटहरी गाउँपालिका–१ का ४२ वर्षीय सोनलाल राजवंशी र सुन्दरहरैचा नगरपालिका–५ का ४७ वर्षीय इन्द्र आचार्य रहेका छन्।
प्रहरीले अवैध जुवा तथा सट्टेबाजी नियन्त्रणलाई थप कडाइका साथ अघि बढाइने जनाएको छ।