०६ माघ २०८२, मंगलबार
Tags

दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध देशव्यापी आन्दोलन घोषणा

रणभूमी सम्वाददाता मंगलबार, माघ ०६, २०८२

काठमाडौँ / ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरिएको छ।

दुर्गा प्रसाईं सचिवालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रसाईंलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाइएको छ। विज्ञप्तिमा वर्तमान सरकार निरंकुश र तानाशाही शैलीमा अघि बढिरहेको दाबी गर्दै बोल्ने, लेख्ने र शान्तिपूर्ण रूपमा असहमति जनाउने अधिकारमाथि हस्तक्षेप भइरहेको उल्लेख छ।

विज्ञप्तिअनुसार, सरकार निकट केही व्यक्ति र निकायका विरुद्ध बोलेको तथा आम नागरिकका ऋण मिनाहा जस्ता विषय उठाएकै कारण प्रसाईंलाई मानसिक र शारीरिक रूपमा यातना दिइएको आरोप लगाइएको छ। यसलाई लोकतन्त्रको उपहास भन्दै तत्काल रिहाइको माग गरिएको छ।

महाअभियानले निर्वाचन आयोगजस्ता संवैधानिक निकायलाई प्रभावमा पारेर असंवैधानिक कदम चालिएको आरोप पनि लगाएको छ। यस्तो कदमको विरोधस्वरूप शान्तिपूर्ण तर कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।

आन्दोलनका कार्यक्रमअन्तर्गत सोमबार बिहान ११ बजेदेखि देशका ७७ वटै जिल्लाका निर्वाचन कार्यालयमा शान्तिपूर्ण धर्ना दिने घोषणा गरिएको छ। साथै, सबै जिल्ला कार्यसमितिलाई स्थानीय नागरिक, व्यवसायी र समर्थकलाई संगठित गरी निरन्तर विरोध प्रदर्शन गर्न निर्देशन दिइएको छ।

प्रेस विज्ञप्तिमा सरकारको दमनकारी कदमले आन्दोलन नरोकिने र अझ सशक्त रूपमा अघि बढ्ने स्पष्ट गरिएको छ। अन्यायपूर्ण गिरफ्तारीविरुद्ध र नागरिक अधिकारको रक्षाका लागि आन्दोलनमा सहभागी हुन न्यायप्रेमी नेपाली नागरिकलाई आह्वान गरिएको छ।

प्रेस विज्ञप्तिमा ‘जय राष्ट्रवाद’ उल्लेख गर्दै महाअभियानका प्रमुख स्वकीय सचिव सुशील बरालको हस्ताक्षर रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्