रणभूमी सम्वाददाता शनिबार, माघ १०, २०८२
विराटनगर / विराटनगरको अत्यन्तै व्यस्त क्षेत्र ट्राफिक चौक मेनरोडको बीचभागमा काटिएका र फिजिएका इन्टरनेट तथा केबलका तारहरूले सर्वसाधारणको सुरक्षा गम्भीर जोखिममा परेको छ। मुख्य सडकको बीचमै तार फिजिएको र सडकमा छरिएको अवस्थाले दुर्घटनाको सम्भावना बढाएको छ भने ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त बनेको छ।
स्थानीयवासीका अनुसार विद्युतका पोलबाट काटिएका इन्टरनेट तारहरू समयमै व्यवस्थापन नगरिँदा पैदलयात्री, मोटरसाइकल चालक र सवारीसाधनका लागि खतरा बढेको हो। यसले दुर्घटना हुने जोखिम झन् बढ्ने स्थानीयको गुनासो छ।
यस्ता तार हटाउने र सुरक्षित व्यवस्थापन गर्ने जिम्मेवारी विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको भए पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप स्थानीयले लगाएका छन्। पोल प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लापरवाही पनि यस समस्याको अर्को कारण भएको बताइएको छ।
स्थानीय व्यवसायी तथा सर्वसाधारणले सडकमा लत्रिएका तार तत्काल हटाई व्यवस्थित गर्न, दोषी निकायमाथि जिम्मेवारी तोक्न र आगामी दिनमा यस्तो समस्या नदोहरिन कडा अनुगमन गर्न माग गरेका छन्। सम्बन्धित निकायले समयमै ध्यान नदिए दुर्घटनाजन्य घटना हुन सक्ने भन्दै स्थानीयले छिटो समाधानको अपेक्षा गरेका छन्।