रणभूमी सम्वाददाता शनिबार, माघ २४, २०८२
विराटनगर / विराटनगर महानगरपालिका वडा नं. ८ स्थित कारागार कार्यालयको परिसरभित्र रहेको बाल सुधार गृहमा लागुऔषध प्रवेश गराउन खोज्ने एक किशोरलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार दिउँसो करिब १:४० बजे बाल सुधार गृहमा रहेका एक जना सुधार गृहमा रहेका राई थर भएको किशोरलाई भेट्न आएका विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने १३ वर्षीय मण्डल थर भएका किशोरलाई कारागार कार्यालयको मुख्य गेटमा चेकजाँच गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपाल, कारागार सुरक्षा बेस मोरङबाट सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी निरीक्षक तारानाथ गौतमको कमान्डमा रहेको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा मण्डलले लगाएको पाइन्टको भित्री गोजीमा लुकाइछिपाई ल्याएको अवस्थामा १८ ग्राम प्रतिबन्धित लागुऔषध गाँजा, नगद ५०० रुपैयाँ र एक थान मोबाइल फोन बरामद गरिएको बुझिनमा आएको छ।
पक्राउ परेका किशोरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरी कारागार सुरक्षा गार्ड कार्यालय मोरङमा बुझाइएको छ। यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यसअघि बिहीवार मात्र मोरङ कारागारभित्र लागुऔषध तस्करीसम्बन्धी अर्को घटना सार्वजनिक भइसकेको छ। लगातार देखिएका यस्ता घटनाले कारागार र बाल सुधार गृहजस्ता संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता थप कडा बनाउनुपर्ने आवश्यकता देखिएको छ।
के यो घटना संयोग मात्र हो, कि कारागार र बाल सुधार गृहजस्ता उच्च सुरक्षा घेराभित्र लागुऔषधको पहुँच सुनिश्चित गर्ने कुनै संगठित सञ्जाल सक्रिय छ? सुधार र संरक्षणका लागि बनाइएका संरचनासम्म प्रतिबन्धित पदार्थ पुग्नु सामान्य कमजोरीका कारण सम्भव देखिँदैन। यसले सुरक्षा प्रणाली, अनुगमन प्रक्रिया र समन्वयमा गहिरो त्रुटि रहेको संकेत गर्छ।
मोरङ कारागार परिसरभित्र रहेको बाल सुधार गृहमा देखिएको यो घटना एक प्रतिनिधिमूलक उदाहरण मात्र हो कि देशका अन्य कारागार तथा सुधार गृहहरूमा पनि यस्तै अवस्था छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ। यदि यस्ता गतिविधि योजनाबद्ध रूपमा भइरहेका छन् भने यो केवल स्थानीय समस्या नभई राष्ट्रिय चिन्ताको विषय बन्छ।
यसकारण यस्ता संवेदनशील संस्थाहरूमा लागुऔषधको पहुँच कसरी सम्भव भयो भन्ने विषयमा सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्दै व्यापक अनुगमन, कडाइ र अनुसन्धान तिब्र पार्नुपर्ने आवश्यकता स्पष्ट देखिएको छ।