रणभूमी सम्वाददाता बुधबार, माघ २८, २०८२
विराटनगर / एभरेष्ट साइन्स सेन्टर नेपाल, शान्तिवनले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) माघ २६ देखि २८ गतेसम्म विविध कार्यक्रमका साथ उत्साहपूर्वक सम्पन्न गरेको छ। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा आयोजित तीनदिने समारोहमा दैनिक बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विज्ञानसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएका थिए।
समारोहको मुख्य आकर्षण अमेरिकी अन्तरिक्ष संस्था नासाका वरिष्ठ वैज्ञानिकहरूको विशेष प्रस्तुति रह्यो। अन्तरिक्ष अनुसन्धान, आधुनिक प्रविधि र भविष्यका वैज्ञानिक सम्भावनाबारे गरिएको प्रस्तुति तथा अन्तरक्रियात्मक सत्रले विद्यार्थी, शिक्षक र विज्ञानप्रेमीहरूलाई प्रत्यक्ष सिकाइको अवसर दिएको आयोजकले जनाएको छ। नासाका विज्ञसँग प्रत्यक्ष संवाद गर्न पाउनु सहभागीका लागि विशेष अनुभव बनेको थियो।
कार्यक्रम अवधिभर प्रयोगात्मक वैज्ञानिक गतिविधिहरू प्रदर्शन गरिएका थिए। विद्यार्थीहरूले स्वयं प्रयोगमा सहभागी हुँदै सिक्ने अवसर पाए। सेन्टर परिसरमा रहेको डायनासोर सङ्ग्रहालयको अवलोकन र ‘यो जादु हो कि जादु होइन’ शीर्षकको विशेष प्रस्तुति विद्यार्थीबीच निकै लोकप्रिय बन्यो। यसले बालबालिकामा वैज्ञानिक सोच र जिज्ञासा अभिवृद्धि गर्न सहयोग पुगेको बताइएको छ।
विद्यार्थीहरूलाई सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा शैक्षिक भ्रमणसमेत गराइएको थियो। भ्रमणका क्रममा अर्ना, विभिन्न प्रजातिका चरा, हात्ती, गोही र डल्फिनलगायत वन्यजन्तुको अवलोकन गराइएको थियो। यसबाट जैविक विविधता र वातावरण संरक्षणसम्बन्धी व्यावहारिक ज्ञान हासिल भएको सहभागी शिक्षकहरूले बताएका छन्।
समारोहमा नेपाल स्वस्थ फुड इन्डष्ट्रिज प्रालि, विराटनगरले “पौष्टिक तत्वयुक्त खाजा, गुणस्तरीय शिक्षा” नारासहित विद्यार्थीहरूलाई खिर र खिचडी जस्ता पोषणयुक्त परिकार वितरण गरेको थियो।
साँझ रुद्राक्ष ब्याण्डको सांगीतिक प्रस्तुति तथा रातिको समयमा दूरबिनमार्फत तारा र ग्रह अवलोकन कार्यक्रमले उत्सवलाई थप आकर्षक बनाएको थियो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समारोहस्थलको अवलोकन गर्दै मन्त्रालय र सेन्टरको लोगो अंकित टि–सर्ट तथा भेस्ट सार्वजनिक गर्नुभएको थियो।
सेन्टरका निर्देशक तथा सीईओ डा. दिलिप कुमार अधिकारीले कार्यक्रम ऐतिहासिक रूपमा सफल भएको उल्लेख गर्दै सहभागी, सहयोगी संस्था र सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता उनले जनाएका छन्।
विज्ञान, अन्तरिक्ष, शैक्षिक तथा मनोरञ्जनात्मक गतिविधिको समिश्रण रहेको यो कार्यक्रम नेपालमै दुर्लभ अवसरका रूपमा लिइएको छ।