रणभूमी सम्वाददाता बिहिबार, माघ २९, २०८२
विराटनगर / स्थानीय समस्याको समाधानमा प्रहरी र नागरिक बीच सिधा संवाद स्थापित गर्ने उद्देश्यले आयोजित नागरिक सुनवाई कार्यक्रम २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय रानी, विराटनगरद्वारा विराटनगर महानगरपालिका वडा नं. १४ को सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, आम नागरिक, समाजसेवी र समुदायका प्रभावशाली व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय तहमा देखिने चोरी, झगडा, घरेलु हिंसा र सीमावर्ती क्षेत्रका समस्याहरूमा खुला छलफल भएको थियो। सहभागीहरूले आफ्ना समस्या र सुझावहरू प्रस्तुत गर्ने अवसर पाएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुडालले सहभागीहरूको जिज्ञासा र प्रश्नहरूको विस्तृत जवाफ दिनुभएको थियो। साथै, इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक कविन राईले पनि उठेका प्रश्नहरूको समाधान गर्नुभएको थियो।
यस्तो नागरिक सुनवाई कार्यक्रमले प्रहरी र समुदाय बीच विश्वास र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। समुदायस्तरमा सुरक्षा व्यवस्था सुदृढ गर्न यस्ता संवादात्मक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने योजना रहेको प्रहरीले जनाएको छ।