रणभूमी सम्वाददाता बिहिबार, माघ २९, २०८२
विराटनगर / कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलन २०८२ को उपलब्धि र प्रक्रियागत पक्षबारे सरोकारवाला निकायसँग बिहीबार विराटनगरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। प्रदेश सरकारको छैटौँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रम गरिएको हो।
कोशी प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते विराटनगरमा पहिलो लगानी सम्मेलन आयोजना गरेको थियो। उक्त सम्मेलनमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी भित्र्याउने समझदारीपत्रमा हस्ताक्षर भएको प्रदेश सरकारले जनाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद रिसालका अनुसार सम्मेलनमा परियोजना विकासका लागि समझदारी गरिएका लगानीकर्ता तथा विकासकर्तासँगै सम्बन्धित सरोकारवाला पक्षसँग सम्मेलनको उपलब्धि र कार्यान्वयन प्रक्रियाबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले सम्मेलनमा छनोट भएका परियोजना, प्रस्तावित लगानी रकम र हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए। उनले सम्मेलनपछि परियोजना कार्यान्वयनको चरण, निजी क्षेत्रको भूमिका र प्रदेश सरकारको सहजीकरणबारे समेत प्रकाश पारे।
कार्यक्रममा निजी क्षेत्रको उल्लेख्य सहभागिता रहेको थियो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष तथा संविधानसभा सदस्य पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिला साह तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहरालगायतले आफ्नो धारणा राखेका थिए।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन मुख्यमन्त्री कार्कीले गरेका थिए। सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरद्वारा लगानी सम्मेलनसम्बन्धी प्रकाशन गरिएको ‘कोशी दर्पण’ विशेषाङ्क पुस्तकको समेत विमोचन गरिएको थियो।
प्रदेश सरकारले लगानी सम्मेलनमार्फत घोषणा भएका परियोजनालाई कार्यान्वयनमा लैजान निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने जनाएको छ।