रणभूमी सम्वाददाता शनिबार, फाल्गुण ०२, २०८२
काठमाडौं / देशका विभिन्न जिल्लाबाट अवैध लागुऔषधसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्र र शनिबार गरिएको कारबाहीमा मोरङ, झापा, रुपन्देही, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।
मोरङको विराटनगर महानगरपालिका-१५ स्थित तिन नम्बर ढाँटमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३० वर्षीय सरोज चौलागाईलाई करिब ३ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित शुक्रबार साँझ पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
यस्तै झापाको गौरीगंज गाउँपालिका-२ आँपगाछीबाट ४२ ग्राम ८ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको छ । प्रहरी चौकी कोरोबारीले मे. १० प ८४३२ नम्बरको स्कुटर जाँच गर्दा कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय सुर्य बहादुर विकसहित २ जनालाई लागुऔषधसहित फेला पारेको हो ।
सोही जिल्लाको बिर्तामोड नगरपालिका-२ कछुबारीबाट ८ ग्राम ४ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ६ हजार रुपैयाँसहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तिलक बुढाथोकी (४२), गोबिन्द बस्नेत (४२), टंक गिरी (५२) र उदय साह (२८) रहेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ आवारोडबाट करिब १ किलोग्राम गाँजा र करिब १ सय ग्राम चरेस जस्तो देखिने पदार्थसहित बिशाल प्रताप राणा (४०) समेत ३ जनालाई शुक्रबार बेलुकी पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो भैरहवाबाट खटिएको प्रहरीले बिशालको डेरा तलासी गर्दा लागुऔषध बरामद गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीबाट करिब १० ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित उदयपुर कटारी नगरपालिका-१ बस्ने २५ वर्षीय संजीव क्षेत्री समेत ३ जनालाई शनिबार बिहान पक्राउ गरिएको छ । प्रदेश ३-०१-०२२ च ८५४९ नम्बरको कार जाँच्ने क्रममा उनीहरू लागुऔषधसहित फेला परेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका-१३ बाट ३३ ग्राम ७ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, १ थान एयरगन र नगद ६५ हजार रुपैयाँसहित २ जनालाई शुक्रबार साँझ पक्राउ गरिएको छ । कञ्चनपुरका २५ वर्षीय शम्भु भट्ट र बैतडीकी २३ वर्षीया कविता भट्ट पक्राउ परेका छन् ।
प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।