रणभूमी सम्वाददाता आइतबार, फाल्गुण ०३, २०८२
विराटनगर —सशस्त्र प्रहरीले विराटनगरको रानी सीमा क्षेत्रबाट करिब ३ लाख रुपैयाँ बराबरको अवैध बोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ।
फाल्गुन २ गते साँझ ६:४० बजे रानी नाका क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटेको टोलीले संदिग्ध सवारीसाधन रोकेर जाँच गर्दा ठूलो परिमाणमा कुखुरा फेला पारेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्काको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले रानीबाट विराटनगरतर्फ आउँदै गरेको प्र १–०२–००२ च ३६३७ नम्बरको इसुजु पिकअप विराटनगर -१७ बाट नियन्त्रणमा लिएको थियो। जाँचका क्रममा गाडीमा अवैध रूपमा लोड गरिएको ३०० गोटा अर्थात् करिब १ हजार केजी बोइलर कुखुरा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद कुखुराको बजार मूल्य करिब ३ लाख रुपैयाँ आँकलन गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–११ राजाटोल निवासी ३८ वर्षीय संजिव श्रेष्ठलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको छ।
बरामद कुखुरा माघ ३ गते बिहान ११:४५ बजे पशु क्वारेन्टाइन कार्यालय विराटनगर रानी, नेपाल प्रहरी, मासु तथा अण्डा व्यवसायी संघका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीहरूको रोहबरमा सशस्त्र प्रहरी गुल्मको परिसरभित्र खाडल खनेर पूर्ण रूपमा नष्ट गरिएको थियो।
अवैध ओसारपोसारमा प्रयोग भएको सवारीसाधनसमेत भन्सार दाखिला गरिएको छ। भन्सार कार्यालय विराटनगरले उक्त गाडीको मूल्य ६ लाख रुपैयाँ निर्धारण गरेको जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित गस्ती र चेकजाँच कडा पारेको जनाएको छ। प्रहरीले अवैध व्यापार नियन्त्रणमा कडाइ जारी रहने स्पष्ट गरेको छ।