रणभूमी सम्वाददाता सोमबार, फाल्गुण ०४, २०८२
विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–९ घोघापुल क्षेत्रबाट ठूलो परिमाणमा बेवारिसे अवस्थामा राखिएका चश्मा बरामद गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ फाल्गुन ३ गते साँझ करिब पौने ५ बजेको समयमा घोघापुलस्थित सडक छेउमा शंकास्पद रूपमा राखिएको १४ वटा पोका फेला परेको थियो। चेकजाँच गर्दा ती पोकाभित्र विभिन्न ब्रान्डका ५ हजार ४१० थान चश्मा भेटिएको प्रहरीले जनाएको छ।
बरामद चश्माको अनुमानित मूल्य ५ लाख ४१ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त सामान कसैले लुकाइछिपाइ राखेको र जिम्मेवार व्यक्ति फेला नपरेपछि बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका चश्मा आवश्यक कानुनी प्रक्रिया पूरा गर्नका लागि भन्सार कार्यालय रानी, विराटनगरमा दाखिला गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।