रणभूमी सम्वाददाता मंगलबार, फाल्गुण ०५, २०८२
सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार राति लागू औषध ओसार पसार गर्दै गरेका दुई चालकलाई ९५५ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल फागुन ५ गते राति २ बजेर १० मिनेट को समयमा धरान उप-महानगरपालिका वडा नम्बर २० बरडाँडा स्थित चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा गाडीलाई चेकजाँच गरेको थियो।
सो क्रममा पहिलो गाडी, बाग्मती प्रदेश-०१-०२७ च. ११४३ नम्बरको सवारी साधनबाट ४९५ किलोग्राम गाँजा बरामद भएको छ। उक्त गाडीका चालक जिल्ला कोल्बी नगरपालिका वडा नम्बर ०८ बस्ने २८ वर्षीय संदिप कुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै दोस्रो गाडी, बि. एसी. ३२३६ नम्बरको सवारी साधनबाट ४६० किलोग्राम गाँजा बरामद गरिएको छ। सो गाडीका चालक काठमान्डौ चन्द्रागिरी नगरपालिका वडा नम्बर ०८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै गाडीबाट जम्मा ९ सय ५५ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। लागू औषध र गाडीसहित नियन्त्रणमा लिइएका दुवै चालकलाई इलाका प्रहरी कार्यालय धरान ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए।