०६ फाल्गुण २०८२, बुधबार
Tags

गरिबीको मारमा परेका ९ नाबालक रोजगारी खोज्न भारत जाँदै गर्दा जोगवनी नाकाबाट फिर्ता

रणभूमी सम्वाददाता मंगलबार, फाल्गुण ०५, २०८२

विराटनगर / कपी-कलम बोकेर विद्यालय जानुपर्ने उमेरमा फाटेको कपडाको झोला भिरी रोजगारीको खोजीमा भारततर्फ हिँडेका ९ जना नाबालकलाई ‘साना हातहरू नेपाल’ संस्थाले नेपाल-भारत सीमा क्षेत्रबाट उद्धार गरेको छ।

सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकाका विभिन्न वडाहरूका ११ देखि १५ वर्ष उमेरका ती नाबालकहरू सोही ठाउँका २५ वर्षीय युवक शिवनारायण ऋषिदेवको साथमा भारततर्फ जाँदै गरेका थिए। विराटनगरको जोगबनी नाकामा तैनाथ साना हातहरू नेपालका कर्मचारीहरूले ती बालकहरूलाई ढाडमा झोला भिरेर सीमा पार गर्न लाग्दै गरेको अवस्थामा रोकेका हुन्।

उद्धारका क्रममा ती बालकहरूसँग अभिभावकसरहको कोही पनि नरहेको र उनीहरू गरिबी तथा बेरोजगारीको मारमा परी रोजगारीको सिलसिलामा भारत जाँदै गरेको खुलेको छ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सीमा निगरानीमा क्रियाशील संस्था ‘साना हातहरू नेपाल’ले उद्धार गरिएका ती बालकहरूलाई हाल बालबालिका खोजतलास केन्द्रमा राखेको जनाएको छ। संस्थाका अनुसार भोलि अभिभावकलाई बोलाएर बालकहरूलाई जिम्मा लगाइनेछ। यससँगै इलाका प्रहरी कार्यालय रानी, विराटनगरमा आवश्यक कानुनी प्रक्रिया पनि पूरा गरिने बताइएको छ।

यस घटनाले गरिबी र बेरोजगारीले थलिएका परिवारका बालबालिकाहरू बाल श्रमको जोखिममा पर्दै गएको गम्भीर यथार्थतर्फ समाजको ध्यान आकर्षित गराएको छ।

यहाँ कमेन्ट गर्नुहोस्