१० फाल्गुण २०८२, आइतबार
Tags

डेनिम राईको गोलले मिल्स भेट्रान्सलाई उपाधि

रणभूमी सम्वाददाता शनिबार, फाल्गुण ०९, २०८२

विराटनगर — चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) ले हात पारेको छ।

विराटनगरस्थित जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको ‘हाम्रो इटहरी भेट्रान्स क्लब’ माथि १–० गोलको संघर्षपूर्ण जित निकाल्दै आयोजक टोली च्याम्पियन बनेको हो। खेल प्रतिस्पर्धात्मक भए पनि अन्ततः एक गोल नै निर्णायक बन्यो।

आयोजकको जितमा डेनिम राई नायक बने। कप्तान रानु राना मगरले डि–बक्स बाहिरबाट दिएको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै राईले गरेको प्रहार जाली चुमेको थियो। त्यही गोलले खेलको परिणाम तय गर्‍यो।

उपाधिसँगै मिल्स भेट्रान्सले नगद ८१ हजार १११ रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो। उपविजेता इटहरी भेट्रान्स क्लबले नगद ४१ हजार १११ रुपैयाँसहित ट्रफीमा चित्त बुझायो।

व्यक्तिगत विधातर्फ आयोजककै दिलीप बास्कोटा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। सुरज श्रेष्ठ तीन गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने भने ‘म्यान अफ द सिरिज’ को उपाधि कोमल खवासले हात पारे।

कोशी प्रदेशका वन तथा पर्यटनमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। विजेता तथा उपविजेता टोलीलाई विराटनगर–१६ का वडाअध्यक्ष उद्धवकुमार भुजेल, मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराई लगायतले पुरस्कार वितरण गरेका थिए।

फागुन ६ गतेदेखि मिल्स भेट्रान्स क्लब, रानीको आयोजनामा सुरु भएको प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्