रणभूमी सम्वाददाता सोमबार, फाल्गुण ११, २०८२
विराटनगर / जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ मातहत रहेको ट्राफिक प्रहरी पोष्ट रानीले सवारीसाधनमा नम्बर पुनर्लेखन अभियान सुरु गरेको छ। बढ्दो सवारी चाप, दुर्घटनाको जोखिम तथा दुर्घटनापछि दोषी उम्किन नपाओस् भन्ने उद्देश्यले स्पष्ट नदेखिने, केरमेट भएका तथा नबुझिने नम्बर प्लेट भएका सवारीसाधनमाथि विशेष अभियान थालिएको हो।
ट्राफिक प्रहरी पोष्ट रानीले हाइवे तथा वैकल्पिक मार्गहरूमा चेकपोस्ट राखेर नबुझिने नम्बर भएका सवारीसाधनमा नम्बर स्पष्ट रूपमा लेख्ने कार्य गर्दै आएको छ।
ट्राफिक प्रहरी पोष्ट रानीका प्रमुख रूपचन चौधरीका अनुसार अभियान सुरु गरेको केही बेरमै दर्जनौं सवारीसाधनमा नम्बर पुनर्लेखन गरिएको छ। उनले स्पष्ट नदेखिने नम्बरका कारण दुर्घटना हुँदा दोषी पहिचान गर्न कठिन हुने भएकाले यस्तो अभियान आवश्यक भएको बताए।
विशेषगरी भारतीय सवारीसाधनहरूमा अगाडिको नम्बर लेख्ने स्थानमा अन्य सामग्री राख्ने, नम्बर नलेख्ने वा अस्पष्ट राख्ने प्रवृत्ति देखिएकाले त्यस्ता सवारीसाधनलाई प्राथमिकतामा राखेर नम्बर लेख्न लगाइँदै आएको प्रहरीले जनाएको छ।
यस अभियानले दुर्घटना भएमा दोषी पहिचान गर्न सहज हुने र जिम्मेवारीबाट उम्किने जोखिम कम हुने विश्वास ट्राफिक प्रहरीले गरेको छ।