१८ फाल्गुण २०८२, सोमबार
Tags

आज मध्यरातदेखि मौन अवधि सुरु, एआईमार्फत प्रचार गर्न पनि रोक

रणभूमी सम्वाददाता सोमबार, फाल्गुण १८, २०८२

विराटनगर / नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय, मोरङले आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा मौन अवधिसम्बन्धी विशेष आचरण सूचना जारी गरेको छ।

कार्यालयले जारी गरेको सूचना अनुसार मिति २०८२ फाल्गुण १८ गते राति १२:०० बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार तथा भातृ संगठनका सम्बन्धित सबैले निम्न आचरण अनिवार्य रूपमा पालना गर्नुपर्ने छ।

सूचना अनुसार उक्त अवधिभर निर्वाचन प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला तथा गोष्ठी लगायत कुनै पनि प्रकारका राजनीतिक गतिविधि सञ्चालन गर्न पाइने छैन। यसका साथै मतदान हुनुभन्दा ४८ घण्टा अगावै मतदान स्थलको ३०० मिटर परिधिभित्र राखिएका सबै राजनीतिक प्रचारसामग्री हटाउन पनि निर्देशन दिइएको छ।

उल्लेखनीय कुरा के छ भने यस पटकको निर्देशनमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगसम्बन्धी विशेष व्यवस्था पनि समावेश गरिएको छ। सो अनुसार AI को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारसामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिन समेत सख्त रूपमा निषेध गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित उक्त सूचनामा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ को आधारमा यो निर्देशन जारी गरिएको उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले यस सूचनाको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्