रणभूमी सम्वाददाता मंगलबार, फाल्गुण २६, २०८२
काठमाडौँ / देशका विभिन्न जिल्लाबाट प्रहरीले अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। सोमबार विभिन्न स्थानमा गरिएको जाँच तथा निगरानीका क्रममा उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ७० मिलिग्रामसहित मधुबन नगरपालिका–७ शुक्रबस्ती बस्ने २६ वर्षीय गौरब पुन मगरलाई सोमबार राति पक्राउ गरिएको छ। प्रहरी चौकी महम्दपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।
त्यस्तै झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्रामसहित सोही स्थानका ३२ वर्षीय लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे.११ प ६०५० नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।
सुनसरीको इनरुवा नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम २ सय १० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा इनरुवा उपमहानगरपालिका–१८ का २९ वर्षीय जेम्स राई र इनरुवा–१७ का २९ वर्षीय सिद्धार्थ चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले लौकहीबाट पकलीतर्फ जाँदै गरेको को.३१ प ३२५५ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित तुलसीपुर–७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो। प्रहरीले उनले प्रयोग गरेको बा.७६ प १७१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट अवैध लागूऔषध गाँजा १ सय ७ किलो ९ सय १० ग्रामसहित २ जनालाई सोमबार राति पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–६ धुसराङका ३३ वर्षीय सन्त सिंह लामा र सोही गाउँपालिका–२ का ३० वर्षीय सन्तवीर मोक्तान रहेका छन्। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले देवकोटबाट सिमपानीतर्फ आउँदै गरेको बा.प्र ०३–००१ ह २०७६ नम्बरको अटो जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने ३१ वर्षीय प्रतिक चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार राति पक्राउ गरिएको छ।
यसैगरी धनगढी उपमहानगरपालिका–१९ धामी चोकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित ३ जनालाई सोमबार साँझ पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा धनगढी–१९ का १९ वर्षीय विवेक चौधरी, धनगढी–१२ जुगेडाका २५ वर्षीय नमराज बराईली र २७ वर्षीय छत्रबहादुर विक रहेका छन्। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१ अमौरीबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्रामसहित जानकी गाउँपालिका–२ परागीपुर बस्ने २७ वर्षीय रमेश दर्लामी मगरलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बाँकेको कोहलपुर नगरपालिका–११ सिद्धनगरमा डेरा गरी बस्ने २८ वर्षीय गोबिन्द सुनारलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित सोमबार साँझ पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।
यसैबीच कास्कीको पोखरा महानगरपालिका–९ शान्तिवनबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४ सय ८२ एम्पुल, डाईजेपाम ४ सय ६० एम्पुल र फेनारगन ४ सय ८१ एम्पुलसहित सोही स्थानका ४३ वर्षीय सुनिल कमरलाई सोमबार साँझ पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।