०४ चैत्र २०८२, बुधबार
Tags

रास्वपाको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, परिणाममुखी राजनीति अभ्यासमा जोड

रणभूमी सम्वाददाता बुधबार, चैत्र ०४, २०८२

ललितपुर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत ३ र ४ गते ललितपुरमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमको उद्घाटन पार्टीका सभापतिद्धय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा घण्टी बजाएर गर्नुभएको थियो। उद्घाटन सत्रमा उहाँहरूले जनताबाट प्राप्त विश्वासलाई परिणाममुखी उपलब्धिमा रूपान्तरण गर्न सांसदहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

उपसभापति डा. वाग्लेले प्रभावकारी संसदीय अभ्यास, नीतिगत स्पष्टता र उत्तरदायित्वपूर्ण नेतृत्वमार्फत जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै उपसभापति अर्यालले चुनावी अभियानका अनुभवहरू साझा गर्दै सांसदहरूलाई जनतासँग नजिक रहेर काम गर्न निर्देशन दिनुभयो।

सहमहामन्त्री विपिनकुमार आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराउने उद्देश्य राखिएको थियो। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपालको संवैधानिक व्यवस्था, संघीय संसदको संरचना तथा कार्यप्रणाली, विधायन प्रक्रिया, संसदीय समितिहरूको भूमिका, बजेट तथा योजना निर्माण, नीति विश्लेषण, सुशासन र पारदर्शिताका मापदण्डबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

पूर्व सचिवहरू तथा विषय विज्ञहरूले सहजीकरण गरेका सत्रहरूले सांसदहरूलाई व्यवहारिक ज्ञान र दृष्टिकोण विकासमा सहयोग पुर्‍याएको जनाइएको छ। कार्यक्रममा कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमले लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा पार्ने प्रभावबारे विशेष प्रस्तुति पनि राखिएको थियो।

यसैगरी, पुनः निर्वाचित सांसदहरूले आफ्नो अनुभव, चुनौती र कार्यशैलीबारे प्रस्तुति दिएका थिए। समूहगत छलफल तथा ब्रेनस्टोर्मिङमार्फत विभिन्न रणनीतिक विषयमा विचार आदानप्रदान गरिएको थियो। आगामी संसदीय कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार भएको कार्यक्रमको निष्कर्ष छ। कार्यक्रममा योग तथा ध्यानसहित माइण्डफुलनेस अभ्यास पनि गरिएको थियो।

समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण तथा नीतिगत प्राथमिकताबारे स्पष्ट पार्दै सांसदहरूलाई अनुशासित, उत्तरदायी र परिणाममुखी राजनीति अभ्यास गर्न आग्रह गर्नुभयो। उहाँले जनताको विश्वासलाई कार्यसम्पादनमार्फत प्रमाणित गर्नुपर्ने उल्लेख गर्दै संसदभित्र र बाहिर दुवै क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो।

सभापति लामिछानेले यो जित पार्टीको मात्र नभई जनताको भएको उल्लेख गर्दै अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। साथै महान् शहीदहरूको त्यागलाई स्मरण गर्दै सामाजिक न्यायलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

उहाँले मधेश र कर्णालीको विकासलाई प्राथमिकतामा राख्दै समग्र देशको विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो। विपक्षी दलप्रति अनावश्यक कटाक्ष नगर्न आग्रह गर्दै शिक्षा, उद्योग सञ्चालन, रोजगारी सिर्जना लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

पार्टीको विधानअनुसार ‘राइट टु रिकोल’ कार्यान्वयन गर्ने उल्लेख गर्दै उहाँले मन्त्री नियुक्तिमा भनसुन र समय व्यर्थ गर्ने प्रवृत्ति त्याग्न निर्देशन दिनुभयो। योग्यता र क्षमताका आधारमा नेतृत्व चयन हुने स्पष्ट पार्दै पुराना सोच त्यागेर जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो।

अभिमुखीकरण कार्यक्रमले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप र दृष्टिकोण विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्