रणभूमी सम्वाददाता बिहिबार, चैत्र ०५, २०८२
विराटनगर / मोरङ प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका लत्ताकपडा बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चैत ५ गते दिउँसो करिब १:१० बजे विराटनगर महानगरपालिका–३ बरगाछी क्षेत्रमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ५७८३ नम्बरको अटो टेम्पो जाँच गर्दा अन्दाजी ४ लाख ३२ हजार रुपैयाँ बराबरका कुर्ता–सुरुवाल फेला परेको थियो।
त्यसैगरी, सोही दिन विराटनगर–९ रोडसेष क्षेत्रमा भारतबाट भन्सार छली गरी ल्याइएको अन्दाजी ७९ हजार ५ सय रुपैयाँ बराबरका साडीहरू बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका लत्ताकपडाको कुल मूल्य ५ लाख ११ हजार ५ सय रुपैयाँ रहेको छ। उक्त सामानसहित अटो टेम्पो नियन्त्रणमा लिई दुई जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी पठाइएको प्रहरीले जनाएको छ।