०५ चैत्र २०८२, बिहिबार
Tags

विराटनगर सहित देशका विभिन्न क्षेत्रमा चैत्र ६ देखि हावाहुरी र भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

रणभूमी सम्वाददाता बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र पूर्वी नेपालका विभिन्न क्षेत्रमा हावाहुरी तथा भारी वर्षाको उच्च जोखिम रहेको जानकारी दिँदै आम नागरिकलाई विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। सोही दिनदेखि दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र र आसपासका जिल्लामा, र शनिवार विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा झण्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावाहुरी चल्ने प्रबल सम्भावना रहेको छ।

प्राधिकरणले प्रि-मनसुनको यो अवधिमा तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा बाधित हुने जोखिम उल्लेख्य रहने बताएको छ। पछिल्ला केही दिनमा देशभर हावाहुरीका घटनाका कारण मानिसहरूको मृत्यु तथा घाइते हुने घटनाहरू भइसकेको पनि प्राधिकरणले स्मरण गराएको छ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले जारी गरेको सूचनामा उल्लिखित स्थानमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरका झ्यालढोका राम्ररी बन्द गर्न, आगोका स्रोतहरू बन्द राख्न र सवारी चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरिएको छ।

यसका साथै कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न, लत्रिएको बिजुलीको तार नछुन र हावाहुरीको समयमा विद्युतीय उपकरण नचलाउन समेत आग्रह गरिएको छ। भिडभाडमा परेमा नआत्तिन र भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान पनि सूचनामा उल्लेख छ।

प्राधिकरणले नागरिकलाई जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट नियमित रूपमा जारी हुने मौसम सम्बन्धी पूर्वानुमान र सूचनाहरूमा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्