०९ चैत्र २०८२, सोमबार
Tags

बिराटनगरमा ३२ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

रणभूमी सम्वाददाता सोमबार, चैत्र ०९, २०८२

विराटनगर / मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित रानी भन्सार क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, रामपुर वडा नं. १० फारबिसगंज बस्ने २९ वर्षीय मसुल अंसारी रहेका छन्।

गोप्य सूचनाका आधारमा मंगलबार दिउँसो करिब ४ बजे रानी भन्सार ढाट नं. १ नजिक चेकजाँच गर्दा अंसारीको साथबाट प्लास्टिकसहित ३३ ग्राम ९०० मिलिग्राम र प्लास्टिकबाहेक ३२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, उनको साथबाट एक थान मोबाइलसमेत फेला पारिएको छ।

प्रारम्भिक सोधपुछका क्रममा उनले उक्त लागूऔषध नेपालमा बिक्री गर्ने उद्देश्यले ल्याएको बताएका छन्।

पक्राउ परेका अंसारीलाई बरामद लागूऔषध र मोबाइलसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्