रणभूमी सम्वाददाता शुक्रबार, बैशाख ११, २०८३
सुनसरी / भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउन लागिएको ठूलो परिमाणको अवैध सामान सशस्त्र प्रहरीले फेला पारेको छ। सीमाक्षेत्रमा बिहानै गरिएको मोबाइल गस्तीका क्रममा करिब ९ लाख ३० हजार रुपैयाँ बराबरको सामान बरामद भएको हो।
वैशाख ११ गते बिहान करिब ४ बजे को समयमा देवानगंज गाउँपालिका–१ स्थित मध्यहर्षाही क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. कप्तानगंजबाट खटिएको टोलीले शंकास्पद गतिविधि देखेपछि अपरेशन अघि बढाएको थियो।
सशस्त्र प्रहरी नायब निरीक्षक रमेश कुमार बोहोराको कमाण्डमा खटिएको १० जनाको टोलीले को १३ प ७१३४ र BR 39Y 0322 नम्बरका दुई मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको सामान रोकेर जाँच गर्दा अवैध रूपमा भित्र्याइएको पुष्टि भएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीमा १२० सेट डबल बेडका तन्ना, १०० थान वाईफाई राउटर तथा चार्जर, ३०० पिस नक्कली गहना र ४ बोरा सुर्ती रहेका छन्। ती सामानको अनुमानित मूल्य करिब ७ लाख ३० हजार रुपैयाँ रहेको छ भने प्रयोग गरिएका मोटरसाइकल दुईवटाको मूल्य करिब २ लाख रुपैयाँ आँकलन गरिएको छ।
प्रहरी टोलीलाई देख्नेबित्तिकै सामान ओसारपसारमा संलग्न व्यक्तिहरू मोटरसाइकल र सामग्री छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए।
बरामद गरिएको सम्पूर्ण सामान र सवारी साधन हाल सीमा सुरक्षा गुल्म कप्तानगंज, सुनसरीमा राखिएको छ। फरार तस्करहरूको खोजी तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा पछिल्लो समय तस्करीका गतिविधि बढ्दै गएपछि सुरक्षा निकायले निगरानी अझ कडा बनाएको बताइएको छ।