रणभूमी सम्वाददाता आइतबार, जेठ ०३, २०८३
सुपौल (बिहार) – नेसनलिस्ट युनियन अफ जर्नलिस्टस् बिहार, सुपौल इकाईले आइतबार सुपौलमा “पत्रकारिताको बदलिँदो समय र एआईको चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम, पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा भारतका विभिन्न स्थानबाट पत्रकार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, नेपालबाट समेत पत्रकार तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
नेपालबाट जोगबनीका वरिष्ठ पत्रकार बरुण मिश्राको अगुवाइमा सहभागी टोलीमा मोरङ क्षेत्र नम्बर ५ की माननीय आशा झाका प्रतिनिधिका रूपमा आमोद झा, प्राइम हस्पिटलका सञ्चालक सनातन मण्डल, हिन्दु स्वयंसेवक संघ मोरङका अध्यक्ष अरविन्द ठाकुर, आभा फाउन्डेसनकी अध्यक्ष आभा अनुपमा, पत्रकार कोकीला भण्डारी, नवल उपाध्याय, ध्रुव भट्टराई, माला मिश्रा, पवन कुमार शाह लगायत एक दर्जनभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा देखिएको तीव्र परिवर्तन, सामाजिक सञ्जालको बढ्दो तथा अनियन्त्रित प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अनाधिकृत प्रयोगबाट उत्पन्न जोखिम तथा त्यसले मूलधारमा कार्यरत श्रमजीवी सञ्चारकर्मीहरूको विश्वसनीयतामा पारेको प्रभावबारे गहन छलफल गरिएको थियो।
छलफलका क्रममा बदलिँदो डिजिटल युगमा सञ्चारमाध्यमहरूले विश्वसनीयता कसरी कायम राख्ने, तथ्यमा आधारित सही सूचना कसरी प्रवाह गर्ने तथा एआईको प्रयोगलाई जिम्मेवार र नैतिक ढंगले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा भारतका विभिन्न क्षेत्रबाट भेला भएका पत्रकारहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूबाट पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावित समाधानका विषयमा मार्गनिर्देशनसमेत प्राप्त भएको बताइएको छ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले सीमापार पत्रकारिता सहकार्य, अनुभव आदानप्रदान तथा सूचना प्रवाहमा विश्वसनीयता अभिवृद्धि गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ।