०६ जेठ २०८३, बुधबार
Tags

नेविअप्रको २३औँ वार्षिकोत्सव : एआई युगअनुकूल शिक्षा सुधार र मानव पूँजी विकासमा जोड

रणभूमी सम्वाददाता मंगलबार, जेठ ०५, २०८३

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) ले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा कृत्रिम बौद्धिकता (एआई), डिजिटल रूपान्तरण, शिक्षा सुधार तथा मानव पूँजी विकासका विषयमा गहन बहस र नीतिगत सन्देश प्रस्तुत गरेको छ।

वि.सं. २०६० मा स्थापना भएको नेविअप्र हाल नेपालको अग्रणी ‘थिंक ट्यांक’ संस्थाका रूपमा परिचित छ । संस्थाले प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आएको छ । यसै क्रममा २०८३ जेठ ५ गते ललितपुरस्थित होटल द प्लाजामा आयोजित वार्षिकोत्सव कार्यक्रम उद्घाटन, विशेष प्रवचन तथा दुईवटा प्यानल छलफलसहित सम्पन्न भएको थियो।

कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा समावेशी तथा दिगो आर्थिक विकासका लागि मानव पूँजी, अनुसन्धान, नवप्रवर्तन तथा संस्थागत क्षमताको सुदृढीकरण अपरिहार्य रहेको बताउनुभयो। “आजका युवाहरू नै भोलिका उद्यमी, नीति निर्माता र परिवर्तनका संवाहक हुन्,” भन्दै उहाँले शिक्षा सुधार र प्रविधिमा आधारित रूपान्तरणका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

नेविअप्रकी कार्यकारी निर्देशक डा. शिखा थापा मगरले स्वागत मन्तव्य राख्दै संस्थाले समावेशी नीति निर्माण तथा युवा जनशक्तिको क्षमताविकासमा निरन्तर योगदान पुर्‍याइरहेको बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) बोर्डका उपाध्यक्ष प्रा. डा. बिन्दु नाथ लोहानीले नेपालका विश्वविद्यालयहरूलाई समयसापेक्ष, अनुसन्धानमुखी, सीपमूलक र भविष्यउन्मुख बनाउन तत्काल सुधार आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले “सीपविनाको डिग्री कमजोर हुन्छ, तर नैतिकताविनाको सीप जोखिमपूर्ण हुन्छ” भन्दै शिक्षा प्रणालीमा मूल्य र प्रविधिबीच सन्तुलन आवश्यक रहेको बताउनुभयो।

नेपाल सरकारका पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले नेपालले जलविद्युत्, पर्यटन तथा भारत–चीनबीचको भौगोलिक अवस्थाजस्ता तुलनात्मक लाभलाई रणनीतिक रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले एआईका अवसरसँगै आय असमानता बढ्न सक्ने जोखिमप्रति पनि सचेत रहनुपर्ने बताउनुभयो।

कार्यक्रममा दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्रा. डा. के. के. अग्रवालले “डिजिटल युगमा शिक्षा दर्शन र सिकाइ विधिको बदलिँदो परिदृश्य” विषयमा विशेष प्रवचन दिनुभएको थियो। उहाँले परम्परागत घोकन्ते र परीक्षा केन्द्रित शिक्षाबाट बाहिर निस्केर सिर्जनात्मकता, विश्लेषण क्षमता, समस्या समाधान र व्यवहारिक सीपमा आधारित शिक्षा प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

पहिलो प्यानल छलफल “नेपालमा उच्च शिक्षामा सुधार गर्नुपर्ने रणनीतिक कार्यक्रम” विषयमा केन्द्रित थियो। छलफलमा विश्वविद्यालयहरूको स्वायत्तता, अनुसन्धानमुखी शिक्षा, नवप्रवर्तन र श्रम बजारसँगको सम्बन्धलाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। कार्यक्रममा रेशु अर्याल ढुंगाना, प्रा. डा. अर्जुन कार्की, प्रा. भूषण श्रेष्ठ लगायतले धारणा राख्नुभएको थियो।

दोस्रो प्यानल छलफल “एआई युगमा जनशक्ति : शिक्षा, रोजगारी र शासन पद्धतीको समायोजन” विषयमा केन्द्रित रहेको थियो। छलफलमा शिक्षा प्रणाली र श्रम बजारबीचको असन्तुलन, डिजिटल तथा प्राविधिक सीपको कमी, दक्ष युवाको विदेश पलायन तथा एआईले सिर्जना गर्ने अवसर र चुनौतीका विषयमा बहस भएको थियो। सहभागीहरूले डिजिटल साक्षरता, समालोचनात्मक सोच र सीपमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रमको समापन गर्दै नेविअप्रका अध्यक्ष डा. जय कुमार गुरुङले डिजिटल युगमा नेपालको विकासका लागि शिक्षा सुधार, ज्ञान आदानप्रदान तथा क्षेत्रीय सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

कार्यक्रममा पूर्वमन्त्री, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, विभिन्न देशका राजदूत, नेपाल सरकारका उच्च अधिकारी, अनुसन्धानकर्ता, पत्रकार तथा विभिन्न क्षेत्रका करिब १३० जनाको प्रत्यक्ष सहभागिता रहेको थियो भने स्वदेश तथा विदेशबाट भर्चुअल माध्यममार्फत पनि सहभागिता जनाइएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित