१८ जेठ २०८३, सोमबार
Tags

भारतबाट तस्करी गरी ल्याइँदै गरेको ७ बोरा सुर्ती र दुई मोटरसाइकल सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

रणभूमी सम्वाददाता सोमबार, जेठ १८, २०८३

सुनसरी / भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ठूलो परिमाणको सुर्ती तथा दुईवटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण मुख्यालय हेडक्वाटर सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतको कमाण्डमा खटिएको टोली तथा सीमा सुरक्षा गुल्म हेडक्वाटर कप्तानगञ्जबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अनन्तलाल साहको कमाण्डमा खटिएको संयुक्त टोलीले सुनसरीको इनरुवा नगरपालिका–९ स्थित इनरुवा–मिर्चिया सडक खण्डमा उक्त सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा को.१३ प १७६४ नम्बरको कालो रङको सुपर स्प्लेन्डर मोटरसाइकल र को.४ प २३९९ नम्बरको निलो रङको १३५ सीसी बजाज डिस्कभर मोटरसाइकलसहित सात बोरा सुर्ती बरामद गरिएको हो।

बरामद गरिएका दुवै मोटरसाइकलको अनुमानित मूल्य जनही १ लाख ५० हजार रुपैयाँका दरले ३ लाख रुपैयाँ रहेको छ भने सात बोरा खुल्ला सुर्तीको मूल्य करिब ४७ हजार रुपैयाँ आँकलन गरिएको छ। बरामद सामानको कुल मूल्य करिब ३ लाख ४७ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको मोटरसाइकल तथा सुर्ती आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित