११ आषाढ २०८३, बिहिबार
Tags

झुटा विवरण सिफारिस गरेको आरोपमा रंगेली-५ को वडा अध्यक्ष र वडा सदस्य पक्राउ

रणभूमी सम्वाददाता बिहिबार, आषाढ ११, २०८३

विराटनगर / झुटा विवरणका आधारमा नेपाली नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मोरङको रंगेली नगरपालिका–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधुनिया महतो भनी झुटा विवरण पेश गरेको र सोही विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताको सर्जमिन सिफारिस गरिएको विषयमा अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा झुटा विवरणको आधारमा सिफारिस गरेको आरोपमा रंगेली नगरपालिका–५ का वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेव लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि दुवै जनालाई प्रहरीसमक्ष पठाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्