रणभूमी सम्वाददाता सोमबार, आषाढ १५, २०८३
विराटनगर / मोरङ प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २५ गते बिहान करिब १०ः४० बजे विराटनगर महानगरपालिका–१५ रानी क्षेत्रमा भारतको पश्चिम बंगाल, दक्षिण दिनाजपुर थाना गंगारामपुर निवासी ३२ वर्षीय चञ्चल सिकदारलाई शंकास्पद अवस्थामा जाँच गर्दा २८ ग्राम ३७० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो।
उक्त घटनापछि थप अनुसन्धानका क्रममा लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा सुनसरीको चन्द्रनगर गाउँपालिका–८ का २५ वर्षीय तेज रावललाई इलाका प्रहरी कार्यालय रानी, लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले रावलको साथबाट बागमती प्रदेश ०२–०२४ प ७६७७ नम्बरको मोटरसाइकल, नेपाली नगद ४ लाख ७१ हजार रुपैयाँ तथा अन्य सामग्रीसमेत बरामद गरेको छ।
दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।