रणभूमी सम्वाददाता बिहिबार, आषाढ १८, २०८३
विराटनगर / विराटनगर महानगरपालिका–१५ मा सञ्चालित रानी आँखा अस्पताल प्रा.लि.ले आफ्नो नामको दुरुपयोग भइरहेका कारण सर्वसाधारणमा भ्रम सिर्जना भएको भन्दै सचेत रहन आग्रह गरेको छ। अस्पताल प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाका अनुसार ‘रानी’ नाम प्रयोग गरेर सञ्चालन गरिएका अन्य अस्पताल वा सेवा केन्द्रसँग रानी आँखा अस्पतालको कुनै सम्बन्ध छैन।
“रानी आँखा अस्पताल यही नामबाट स्थापित पहिलो अस्पताल हो। अहिले अन्य केही संस्थाले पनि ‘रानी’ नाम प्रयोग गरिरहेका छन्, जसका कारण बिरामीहरू झुक्किने अवस्था सिर्जना भएको छ,” उहाँले भन्नुभयो।
नामको दुरुपयोगले केही नकारात्मक प्रभाव परेको भए पनि अस्पतालले आफ्नो सेवामुखी अभियानलाई निरन्तरता दिएको उहाँको भनाइ छ। “हामी सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै पारदर्शी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छौं। विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेर हजारौं नागरिकसम्म पुगेका छौं। ६० वर्षभन्दा माथिका नेपाली नागरिकलाई दैनिक तीन जनाका दरले निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गर्ने व्यवस्था पनि गरेका छौं,” उहाँले बताउनुभयो।
अस्पतालले सञ्चालन गरिरहेको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हालसम्म ९५ जना ज्येष्ठ नागरिकको पूर्ण रूपमा निःशुल्क मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ। त्यस्तै असहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा ज्येष्ठ नागरिक गरी एक हजारभन्दा बढी सेवाग्राहीलाई ५० प्रतिशत छुटमा उपचार सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ।
अस्पतालको सेवाबाट लाभान्वित बिरामीहरूका अनुसार रानी आँखा अस्पतालले उपचार मात्र होइन, आर्थिक रूपमा कमजोर नागरिकलाई पुनः दृष्टि दिलाएर सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरिरहेको छ।
उता विद्यालयस्तरमा समेत आँखा स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले रानी आँखा अस्पतालले मोरङ, सुनसरी र आसपासका विभिन्न विद्यालयमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म १७ वटा विद्यालयका करिब २ हजार २०० जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण सम्पन्न भइसकेको अस्पतालले जनाएको छ।
जहदा, कटहरी, रतुवामाई, कोशी गाउँपालिका, बर्जु, धरान, विराटनगर तथा बारा क्षेत्रका विभिन्न सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत विद्यार्थीमा आँखासम्बन्धी समस्या प्रारम्भिक अवस्थामै पहिचान गरी आवश्यक उपचारका लागि सहजीकरण गरिएको अस्पतालले जनाएको छ।
प्रशासन प्रमुख बास्तोलाले आगामी दिनमा पनि निःशुल्क आँखा शिविर, विद्यालय स्वास्थ्य कार्यक्रम तथा ज्येष्ठ नागरिक लक्षित सेवा अझ प्रभावकारी बनाउँदै लैजाने योजना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालको उद्देश्य व्यावसायिक लाभभन्दा पनि गुणस्तरीय उपचारसँगै समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्नु हो।
‘रानी’ नामको दुरुपयोगका कारण उत्पन्न भ्रमबाट बच्न वास्तविक रानी आँखा अस्पतालको पहिचान गरेर मात्र सेवा लिन अस्पतालले सर्वसाधारणसँग आग्रह गरेको छ।