२० आषाढ २०८३, शनिबार
Tags

कोशी अस्पतालमा छुट्टै आँखा अस्पताल स्थापना गर्ने योजना अघि बढ्यो

रणभूमी सम्वाददाता शनिबार, आषाढ २०, २०८३

विराटनगर / कोशी प्रदेशका स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको स्थलगत अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे अस्पताल प्रशासनसँग प्रारम्भिक छलफल गर्नुभएको छ।

हाल सञ्चालनमा रहेको आँखा उपचार सेवालाई थप विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने योजना मन्त्रालयले अघि बढाएको जनाइएको छ। यस विषयमा अस्पताल प्रशासनसँग आवश्यक पूर्वाधार, सेवा विस्तार र व्यवस्थापनका विषयमा प्रारम्भिक छलफल भएको हो।

अनुगमनमा मोरङ क्षेत्र नम्बर–६ की प्रतिनिधिसभा सदस्य रुविना आचार्यको पनि सहभागिता रहेको थियो।

मन्त्री मेहताले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन भवनहरूको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ, उपकरण व्यवस्थापन र पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिनुभएको थियो।

अनुगमनपछि उहाँले अस्पताल प्रशासनलाई अस्पताल परिसरको सरसफाइलाई अझ प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका काम तोकिएको समयभित्र सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापनलाई व्यवस्थित गर्न र प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभएको छ।

त्यसैगरी, अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचनाहरू हटाउन मन्त्रालयले एक महिनाअघि दिएको निर्देशन तत्काल कार्यान्वयन गर्न पनि उहाँले पुनः निर्देशन दिनुभएको छ।

मन्त्री मेहताले नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै त्यसअनुसार अस्पताल सेवामा सुधार र विस्तारलाई तीव्रता दिइने बताउनुभएको छ।

यहाँ कमेन्ट गर्नुहोस्