२७ आषाढ २०८३, शनिबार
Tags

मोरङ सीमाबाट ६ लाख ८० हजारभन्दा बढीको तस्करीका सामान बरामद, २ लाख रुपैयाँ नगदसहित एक भारतीय पक्राउ

रणभूमी सम्वाददाता शनिबार, आषाढ २७, २०८३

विराटनगर / मोरङका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले तस्करी गरी नेपाल भित्र्याइँदै गरेका ६ लाख ८० हजार ५३० रुपैयाँ बराबरका अवैध मालसामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी, मोरङ मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले इस्लामपुर क्षेत्रबाट ६ बोरा लत्ताकपडा करिब १ लाख ८० हजार ९ सय रुपैयाँ बराबरको, दरैया क्षेत्रबाट १३ बोरा (करिब ६५० केजी) छोकडा करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको तथा रानी मटेरुवा क्षेत्रबाट १ लाख ५० हजार ६३० रुपैयाँ बराबरका कपडा, किराना तथा कस्मेटिक सामग्री बरामद गरेको हो।

बरामद गरिएका सबै मालसामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, सोही दिन बीओपी डोरिया क्षेत्रबाट अवैध रूपमा ल्याइँदै गरेको ८० केजी मुंग्री माछा बरामद गरी खाल्डो खनी नष्ट गरिएको छ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीले विराटनगरस्थित एक नम्बर ढाटबाट स्रोत नखुलेको नेपाली नगद १ लाख ९९ हजार ५ सय रुपैयाँ (पाँच सय दरका ३९९ थान नोट) सहित भारतको पश्चिम बंगाल राज्य, उत्तर दिनाजपुर जिल्लाका ३४ वर्षीय मनीरुजमानलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्