रणभूमी सम्वाददाता शनिबार, आषाढ २७, २०८३
विराटनगर / नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’ को छायांकनका क्रममा आफूले मधेशी भएकै कारण जातीय तथा क्षेत्रीय विभेद, अपमान र श्रम शोषण भोग्नुपरेको भन्दै कलाकार काजल कर्णले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो अभिव्यक्तिपछि नेपाली फिल्म क्षेत्रमा नयाँ बहस सुरु भएको छ।
काजल कर्णले आफ्नो फेसबुक स्टाटसमार्फत फिल्मको सेटमा आफूलाई अन्य कलाकारसरह व्यवहार नगरिएको, मेकअप रुमदेखि छायांकनस्थलसम्म अपमानजनक टिप्पणी गरिएको, मधेशी पहिचानकै आधारमा होच्याइएको तथा पारिश्रमिक र भूमिकासम्बन्धी अन्याय भएको आरोप लगाएकी छन्।
उनका अनुसार सेटमा केही प्राविधिकले आफूलाई ‘मधेशी’, ‘गोठालो’ लगायतका शब्द प्रयोग गर्दै उपहास गरेका थिए। साथै स्क्रिप्टमा नभएका दृश्य जबर्जस्ती गराइएको, आफूलाई फोहोर उठाउने तथा कुचो लगाउने दृश्यमा प्रयोग गरिएको र बाँकी पारिश्रमिक माग्दा बेवास्ता गरिएको उनको दाबी छ।
काजलले इटहरीमा छायांकन भइरहेका बेला आफूलाई पारिश्रमिक दिने भन्दै बोलाएर अन्तिम समयमा आफ्नो स्थानमा अर्की कलाकारलाई राखिएको तथा कुनै पूर्वजानकारीबिना फिल्मबाट हटाइएको आरोपसमेत लगाएकी छन्। उनले यो घटना केवल व्यक्तिगत पीडा नभई नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारले भोग्नुपर्ने विभेदको उदाहरण भएको दाबी गरेकी छन्।
यसैबीच फिल्मका निर्देशक दीपक प्रसाद आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक स्पष्टीकरण जारी गर्दै काजलका आरोपहरू अस्वीकार गरेका छन्।
निर्देशक आचार्यले फिल्मको टिमका लागि कुनै जातीय वा क्षेत्रीय विभाजन नरहेको र “हाम्रो लागि एउटै समुदाय मानव समुदाय हो” भन्दै सेटमा जातीय विभेद भएको आरोपमा सत्यता नरहेको दाबी गरेका छन्। उनले काजलले आफूलाई कुनै पनि समयमा यस्तो व्यवहारबारे जानकारी नगराएको उल्लेख गर्दै यदि कसैले विभेदपूर्ण व्यवहार गरेको प्रमाणित भए तत्काल कारबाही गरिने बताएका छन्।
उनका अनुसार तोकिएको समयमा कलाकार सेटमा नआएकाले छायांकन रोक्न नसकी अर्को कलाकारमार्फत काम अगाडि बढाइएको थियो। उनले काजलको पारिश्रमिकमध्ये अन्तिम किस्ता मात्र बाँकी रहेको र डबिङपछि भुक्तानी गर्ने सहमति भएको दाबी गरेका छन्।
निर्देशकले कलाकारले कथाअनुसार जुनसुकै भूमिका निर्वाह गर्नुपर्ने भन्दै गोबर सोहोर्ने वा श्रमिकको भूमिका गर्नु कुनै अपमानजनक विषय नभएको पनि उल्लेख गरेका छन्। साथै काजलले फिल्ममा विभिन्न दृश्यमा राम्रो अभिनय गरेको र उनलाई केवल त्यस्ता दृश्यमा मात्र सीमित गरिएको आरोप पनि असत्य भएको दाबी गरेका छन्।
निर्देशकको स्पष्टीकरणपछि काजल कर्णले पुनः अर्को विस्तृत प्रतिक्रिया सार्वजनिक गर्दै निर्देशकका सबै दाबी अस्वीकार गरेकी छन्।
उनले सेटमै आफूमाथि जातीय टिप्पणी भएको, मेकअपका क्रममा अपमान गरिएको, पारिश्रमिकका लागि पटक–पटक आग्रह गर्नुपरेको, इटहरी बोलाएर आफ्नो स्थानमा अर्की कलाकार राखिएको तथा सम्पूर्ण घटनाको प्रमाण आफूसँग रहेको दाबी दोहोर्याएकी छन्। निर्देशकले सार्वजनिक गरेको स्पष्टीकरण वास्तविकता ढाकछोप गर्ने प्रयास मात्र भएको उनको भनाइ छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका यी परस्पर विरोधी दाबीहरूले नेपाली फिल्म उद्योगभित्र कलाकारको कार्य वातावरण, श्रमिक अधिकार, व्यावसायिक आचरण तथा सम्भावित जातीय विभेदका विषयमा व्यापक बहस सुरु भएको छ।
हालसम्म यस विषयमा कुनै आधिकारिक छानबिन वा सम्बन्धित निकायको औपचारिक निष्कर्ष सार्वजनिक भएको छैन। त्यसैले काजल कर्ण र फिल्म निर्माण पक्षले सार्वजनिक गरेका दाबीहरू उनीहरूकै भनाइमा आधारित रहेका छन्।