३१ आषाढ २०८३, बुधबार
Tags

विराटनगरमा लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक पक्राउ

रणभूमी सम्वाददाता बुधबार, आषाढ ३१, २०८३

विराटनगर / मोरङ प्रहरीले लागुऔषध सेवन गरी सवारी साधन चलाउने १० जना चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले असार ३० गते विराटनगर महानगरपालिका–१६ हुलास चोकस्थित कोशी राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले चिकित्सकको सहयोगमा विशेष चेकजाँच सञ्चालन गरेको थियो।

दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म गरिएको चेकजाँचका क्रममा सार्वजनिक नम्बर प्लेटका ९ वटा सिटी सफारी र १ वटा निजी मोटरसाइकलका चालक गरी १० जनामा लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई सवारी साधनसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी नचलाउन सबै चालकलाई आग्रह गर्दै यस्ता कार्यमा संलग्न पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, लागुऔषध वा मादक पदार्थ सेवन गरेर सवारी चलाएको जानकारी वा शंका भएमा नजिकको प्रहरी कार्यालय, प्रहरी हटलाइन १०० वा ट्राफिक प्रहरी हटलाइन १०३ मा जानकारी गराउन पनि अनुरोध गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्