रणभूमी सम्वाददाता बुधबार, आषाढ ३१, २०८३
काठमाडौं / नेपाल प्रहरीले देशभर सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत कोशी प्रदेशसहित विभिन्न जिल्लाबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै ३० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये कोशी प्रदेशका मोरङ, सुनसरी र झापाबाट मात्रै पाँच जना पक्राउ परेका छन्।
मोरङको बेलबारी नगरपालिका–४ बुधबारेबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने ६१ ग्राम ९२० मिलिग्राम पदार्थ र नगद ७२ हजार रुपैयाँसहित ३५ वर्षीय सुनिल राईलाई पक्राउ गरेको छ। त्यस्तै पथरी शनिश्चरे नगरपालिका–५बाट ७५० मिलिग्राम ब्राउनसुगरसहित २५ वर्षीय सुनिल पासवान पक्राउ परेका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५बाट ७ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित २५ वर्षीय सौगात सुनुवार पक्राउ परेका छन्।
झापाको बिर्तामोड नगरपालिका–८बाट १ ग्राम ३५ मिलिग्राम ब्राउनसुगरसहित २७ वर्षीय मनिश लिम्बु पक्राउ परेका छन् भने दमक नगरपालिका–१बाट ३२० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय अम्बर साम्बा पक्राउ परेका छन्।
यसैबीच, नवलपरासी पश्चिम, तनहुँ, महोत्तरी, रोल्पा, बाँके, मुगु, सिराहा, कैलाली र सुर्खेतमा समेत प्रहरीले लागूऔषधविरुद्ध विशेष अभियान सञ्चालन गर्दै डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, गाँजा, ब्राउनसुगर, खैरो हेरोइन र चरेस बरामद गरेको छ। ती जिल्लाबाट पनि लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न २५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सबै घटनाका सम्बन्धमा लागूऔषध सम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाइएको छ।