रणभूमी सम्वाददाता बुधबार, साउन ०६, २०८३
विराटनगर / मोरङ प्रहरीले कटुवा पेस्तोल, लागूऔषध र गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ६ गते राति करिब १०:२० बजे विराटनगर महानगरपालिका–१८ झटियाही बुढानगरस्थित एक घरमा खानतलासी गर्ने क्रममा प्रहरीले कटुवा पेस्तोल, लागूऔषध र गाँजा बरामद गरेको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले विराटनगर–१८ निवासी ५१ वर्षीय लाल किशोर यादवको कोठामा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, ब्राउन हेरोइन जस्तो देखिने ३ ग्राम ७ मिलिग्राम पदार्थ तथा २ ग्राम ५८ मिलिग्राम गाँजा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएको हतियार तथा लागूऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।