रणभूमी सम्वाददाता शुक्रबार, साउन ०८, २०८३
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–४ लालिगुराँस टोलबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन १०४ ग्राम सहित एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–१२ स्थायी घर भएका २१ वर्षीय धनकुमार यादव रहेका छन्।
गोप्य सूचनाको आधारमा शुक्रबार दिउँसो करिब ३ बजे लालिगुराँस टोलमा प्रहरीले उनलाई नियन्त्रणमा लिई शरीर तथा साथमा रहेको सामान जाँच गर्दा प्लास्टिकसहित ११० ग्राम तथा प्लास्टिकबाहेक १०४ ग्राम खैरो हेरोइन बरामद भएको हो। साथै उनको साथबाट एक थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका यादवले उक्त लागूऔषध भारतबाट ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको बताएका छन्।
बरामद गरिएको लागूऔषध र मोबाइलसहित उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको प्रहरीले जनाएको छ।