रणभूमी सम्वाददाता शुक्रबार, साउन १५, २०८३
विराटनगर / विश्व मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा नव अभियान नेपाल, विराटनगर शाखाले बिहीबार विराटनगरमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्दै दिवस मनाएको छ।
दिवसको अवसरमा संस्थाले बिहान ८ बजेदेखि १० बजेसम्म विराटनगर महानगरपालिका–१७ को सीमावर्ती क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरी स्थानीय बासिन्दालाई मानव बेचबिखनका जोखिम, बच्ने उपाय तथा सचेतनाबारे जानकारी गराएको थियो।
मानव बेचबिखन अन्त्यका लागि सामूहिक ऐक्यबद्धता जनाउने उद्देश्यले हस्ताक्षर (सिग्नेचर) अभियान पनि सञ्चालन गरिएको संस्थाले जनाएको छ।
दिउँसो विराटनगर महानगरपालिका–१६ का वडा अध्यक्ष उद्धव भुजेलको प्रमुख आतिथ्यमा आयोजित सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले सीमावर्ती क्षेत्रमा मानव बेचबिखनको जोखिम उच्च हुने भएकाले समुदायस्तरमै निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा नव अभियान नेपालका जिल्ला संयोजक समिर न्यौपानेले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई मानिसहरूलाई मानव बेचबिखन तथा हिंसामा फसाउने प्रवृत्तिबारे श्रव्य–दृश्य सामग्रीमार्फत जानकारी गराउँदै सचेत रहन आग्रह गर्नुभयो।
दिवसभर सञ्चालन गरिएका कार्यक्रमको समापन साँझ ५:३० बजे दीप प्रज्वलन कार्यक्रम गरी गरिएको संस्थाले जनाएको छ।