१९ साउन २०८३, मंगलबार
Tags

नेपाल हुँदै भारत प्रवेश गरेका दुई बंगलादेशी नागरिक भारतीय एसएसबीद्वारा पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, साउन १९, २०८३

विराटनगर / भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा खटिएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ५६औँ बटालियनले नेपालबाट अवैधरूपमा भारत प्रवेश गरेका दुई बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। उनीहरूसँग वैध राहदानी (पासपोर्ट) र भिसा नभेटिएपछि नियन्त्रणमा लिई विस्तृत अनुसन्धान अघि बढाइएको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन्।

जानकारीअनुसार सोमबार बिहान करिब ११ बजे दुबतोला अन्तर्गत आमगाछी सीमा चौकी (बीओपी) बाट एएसआई (जीडी) लालनुन माभियाको नेतृत्वमा नियमित सीमा गस्ती भइरहेको थियो। सो क्रममा सीमा स्तम्भ नम्बर १७४ नजिक, भारतीय क्षेत्रभित्र करिब २० मिटर दूरीमा रहेको सोनामनी गोदाम क्षेत्रमा नेपालतर्फबाट आएका दुई जनामाथि शंका लागेपछि उनीहरूलाई रोक्दै सोधपुछ गरिएको थियो।

सोधपुछका क्रममा पक्राउ परेकाहरूले आफूहरू बंगलादेशको चाँदपुर जिल्लाको कचुवास्थित बिटारा गाउँका ४३ वर्षीय रहमत अली (अब्दुल बारेकका छोरा) र २२ वर्षीय मोहम्मद जमाल हसन जिहाद (मोहम्मद जमाल हुसेन मोल्लाका छोरा) रहेको बताएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूसँग भारत प्रवेशका लागि आवश्यक पर्ने वैध राहदानी र भिसा नरहेको पुष्टि भएको एसएसबीले जनाएको छ।

प्रारम्भिक बयानअनुसार उनीहरू नेपालस्थित काठमाडौंबाट भारत प्रवेश गरी पश्चिम बंगालको सिलिगुडी करिडोर हुँदै असम–बंगलादेश सीमाबाट आफ्नो देश फर्कने योजनामा थिए। तर भारतीय सुरक्षा निकायहरूले उनीहरूको वास्तविक उद्देश्य तथा भारत प्रवेशको कारणबारे थप अनुसन्धान गरिरहेका छन्।

एसएसबी ५६औँ बटालियन (बथनाहा) का कमाण्डिङ अफिसर तथा द्वितीय कमान्डेन्ट नितिन गुप्ताले नियमित सीमा गस्तीका क्रममा शंकास्पद गतिविधिका आधारमा दुवै जनालाई नियन्त्रणमा लिइएको बताए। विस्तृत अनुसन्धान सम्पन्न भएपछि उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सोनामनी गोदाम प्रहरी चौकीमा बुझाइने उनले जानकारी दिए।

यस्तै, अररियाका एसडीपीओ सुशील कुमारले पनि दुई बंगलादेशी नागरिक पक्राउ परेको पुष्टि गर्दै उनीहरूमाथि गहन अनुसन्धान भइरहेको बताए। नेपाल हुँदै भारत प्रवेश गर्नुपर्ने कारण र उनीहरूको वास्तविक उद्देश्यबारे सुरक्षा निकायहरूले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उनले बताए।

सीमामा एसएसबीको सतर्कताका कारण भएको यो कारबाहीलाई भारत–नेपाल अन्तर्राष्ट्रिय सीमाको सुरक्षा व्यवस्थाका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्