२५ साउन २०८३, सोमबार
Tags

रानी–जोगबनी नाका : सुरक्षाकर्मीको आँखैअगाडि मौलाउँदैछ तस्करीको धन्दा?

पवन कुमार शाह सोमबार, साउन २५, २०८३

विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगर र छिमेकी मुलुक भारतको जोगबनी जोड्ने रानी–जोगबनी नाका नेपाल–भारतबीचको महत्वपूर्ण प्रवेशद्वार हो। लामो समयदेखि व्यापारिक, औद्योगिक तथा सीमावर्ती गतिविधिको प्रमुख केन्द्रका रूपमा विकसित विराटनगरबाट भारतसँगको आवतजावत र व्यापारिक कारोबारमा यस नाकाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

पर्यटन, शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि दैनिक ठूलो संख्यामा मानिसको आवतजावत हुने यो नाका दुई देशबीचको सहज सम्पर्कको महत्वपूर्ण माध्यम बनेको छ। भारतका विभिन्न ठूला सहरबाट रेलमार्फत जोगबनीसम्म सहज पहुँच हुनु र त्यसपछि विराटनगरतर्फको नियमित आवतजावतले यो नाकाको आर्थिक तथा सामाजिक महत्व झनै बढाएको छ।

तर, जहाँ आवतजावत सहज हुन्छ, त्यहाँ अपराध र अवैध गतिविधिको जोखिम पनि उत्तिकै बढ्ने गरेको छ।

विराटनगर–जोगबनी सीमाक्षेत्रमा अहिले लागूऔषधको ओसारपसार, अवैध निकासी–पैठारी, चोरी–तस्करी, मानव बेचबिखन, हातहतियार तथा अन्य आपराधिक गतिविधि सुरक्षा निकायका लागि मुख्य चुनौतीका रूपमा देखिएका छन्।

मुख्य नाकामा कडाइ, खुला सीमामा तस्करीको बाटो?
मुख्य भन्सार नाकामा सुरक्षा जाँच कडा हुँदै गएपछि सीमाका खुला बाटाहरूबाट हुने अवैध गतिविधि थप सक्रिय भएको स्थानीयको गुनासो छ।

पहिले प्रायः रातको समयमा अँध्यारोको फाइदा उठाउँदै तस्करी हुने गरेको बताइए पनि अहिले कतिपय सीमावर्ती क्षेत्रमा दिउँसै खुलेआम सामान ओसारपसार हुने गरेको दृश्य देखिन थालेको छ।

सबैभन्दा गम्भीर प्रश्न त त्यतिबेला उठ्छ, जब सुरक्षाकर्मी परिचालन भएका क्षेत्रबाटै अवैध सामान ओसारपसार भइरहेको देखिन्छ। सुरक्षाकर्मीको आँखा अगाडिबाटै सामान वारपार भइरहेको अवस्थामा समेत नियन्त्रणका लागि प्रभावकारी पहल नभएको स्थानीयको आरोप छ।

यस्ता गतिविधि साँच्चिकै सुरक्षाकर्मीको जानकारीबाहिर भइरहेका छन् वा जानकारी हुँदाहुँदै पनि बेवास्ता गरिँदैछ? यो प्रश्नको जवाफ सम्बन्धित सुरक्षा निकायले दिनुपर्ने देखिन्छ।

लागूऔषधमा झन् गम्भीर अवस्था
खुला सीमाका कारण लागूऔषध नियन्त्रण अर्को ठूलो चुनौती बनेको छ। सीमावर्ती क्षेत्रका विभिन्न अनधिकृत बाटोबाट लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको आवतजावत हुने गरेको स्थानीयको भनाइ छ।

सुरक्षाकर्मी परिचालन भएका स्थानकै आसपासबाट समेत केही व्यक्ति भारततर्फ जाने र फर्किने गरेको बताइन्छ। लागूऔषध प्रयोगकर्ताको आवतजावतमा प्रभावकारी निगरानी नहुँदा सीमाक्षेत्र लागूऔषधको कारोबारका लागि सहज माध्यम बन्न सक्ने जोखिम बढेको छ।

अझ गम्भीर आरोप त यस्तो पनि छ कि भारततर्फ गएर लागूऔषध सेवन गरी फर्किने केही व्यक्तिले सीमामा खटिएका सुरक्षाकर्मीलाई जुस, चिसो पानीलगायतका सामग्री दिने गरेको चर्चा सीमावर्ती क्षेत्रमा सुनिन्छ।

यदि यस्तो गतिविधि प्रमाणित हुन्छ भने यो केवल सीमामा खटिएका सुरक्षाकर्मीको लापरवाहीको विषय मात्र होइन, सुरक्षा संयन्त्रमाथि नै गम्भीर प्रश्न उठ्ने विषय हो।

कपडादेखि लागूऔषधसम्म बरामद
विराटनगरको खुला सीमाबाट हुने अवैध निकासी–पैठारीको स्वरूप पनि फराकिलो छ। समय–समयमा प्रहरीले तथा सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रबाट कपडा, खाद्यान्न, मेसिनरी पार्ट्स, इलेक्ट्रोनिक सामान, औषधिजन्य सामग्री तथा अन्य अवैध सामान बरामद गर्दै आएका छन्।

त्यसैगरी म्याद गुज्रिएका औषधि तथा विभिन्न प्रकारका लागूऔषधसमेत बरामद हुने गरेका घटनाले सीमाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

एकातर्फ सुरक्षा निकायले अवैध सामान बरामद गरेको विवरण सार्वजनिक गरिरहेका छन् भने अर्कोतर्फ त्यही सीमाक्षेत्रबाट निरन्तर तस्करी भइरहेको दृश्य देखिनु आफैंमा विरोधाभासपूर्ण देखिन्छ।

खुला सीमा कि खुला तस्करीको बाटो?
नेपाल–भारतबीचको खुला सीमा ऐतिहासिक सम्बन्ध, सामाजिक सम्बन्ध र आर्थिक गतिविधिका लागि महत्वपूर्ण छ। सीमा पूर्ण रूपमा बन्द गर्नु समाधान होइन। तर खुला सीमा भन्दैमा अपराधी, तस्कर र लागूऔषध कारोबारीका लागि सीमा खुला छाड्न मिल्दैन।

मुख्य नाकामा मात्र सुरक्षा कडाइ गरेर खुला सीमाका अन्य बाटोमा निगरानी कमजोर बनाउने हो भने तस्करले बाटो बदल्ने मात्र हो, गतिविधि रोकिँदैन।

त्यसैले रानी–जोगबनी नाकाको सुरक्षा व्यवस्थालाई मुख्य भन्सार गेटमा सीमित नराखी सम्पूर्ण सीमाक्षेत्रमा प्रभावकारी निगरानी, नियमित गस्ती, प्रविधिको प्रयोग र सुरक्षा निकायबीचको समन्वय आवश्यक देखिन्छ।

सबैभन्दा महत्वपूर्ण कुरा—सुरक्षाकर्मीको उपस्थितिमै अवैध गतिविधि भइरहेको हो भने त्यसको जिम्मेवारी कसले लिने?
सीमामा तस्कर सक्रिय छन् कि सुरक्षा व्यवस्थामै कतै कमजोरी छ?

यो प्रश्नको निष्पक्ष छानबिन र स्पष्ट जवाफ अब आवश्यक छ।

यहाँ कमेन्ट गर्नुहोस्