रणभूमी सम्वाददाता बुधबार, साउन २७, २०८३
काठमाडौं । प्रहरीमा भर्ना गराइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने पर्वत फलेवास नगरपालिका–१ घर भएका ४६ वर्षीय हरि बहादुर रसाईली रहेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सहायक निरीक्षक पदका लागि खुला तर्फ दरखास्त दिई लिखितलगायत सबै परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताका लागि तयारी अवस्थामा रहेका एक आवेदकलाई रसाईलीले आफ्नो गृहमन्त्रालयका विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको भन्दै विश्वास दिलाएको प्रहरीले जनाएको छ।
उनले अन्तर्वार्तामा नाम निकालिदिने र ‘सेटिङ’ मिलाउन १० लाख रुपैयाँ लाग्ने भन्दै आवेदकलाई आफ्नो बैंक खातामा उक्त रकम पठाउन लगाएको आरोप छ।
ठगीमा संलग्न रहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रसाईलीलाई काठमाडौं महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको हो।
पक्राउ परेका रसाईलीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।