२९ साउन २०८३, शुक्रबार
Tags

भन्सारमा अनधिकृत प्रवेश र गतिविधि नियन्त्रण गर्ने निर्णयको भन्सार एजेन्ट महासंघद्वारा स्वागत

रणभूमी सम्वाददाता बिहिबार, साउन २८, २०८३

विराटनगर / भन्सार विभागले भन्सार जाँचपास कार्यमा अनधिकृत व्यक्तिको पहुँच र गतिविधि नियन्त्रण गर्ने गरी जारी गरेको पत्रको भन्सार एजेन्ट महासंघ नेपालले स्वागत गरेको छ।

भन्सार विभाग, सेवा प्रवाह सहजीकरण शाखाले भन्सार कार्यालयहरूलाई पत्राचार गर्दै कानुनबमोजिम नियुक्ति पत्र प्राप्त गरेका भन्सार जाँचपास प्रतिनिधिलाई मात्र सम्बन्धित मालवस्तुको जाँचपास कार्यमा सहभागी गराउन तथा अन्य अनधिकृत व्यक्तिलाई जाँचपास कार्यमा संलग्न नगराउन निर्देशन दिएको छ।

विभागले भन्सार ऐन तथा भन्सार नियमावलीमा भएको व्यवस्थाअनुसार भन्सार जाँचपास प्रतिनिधिको अधिकार र जिम्मेवारी स्पष्ट रहेको उल्लेख गर्दै जाँचपास प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश नियन्त्रण गर्न निर्देशन दिएको हो। साथै, विभागीय निर्देशनको प्रभावकारी कार्यान्वयन र त्यसको जानकारी विभागलाई उपलब्ध गराउनसमेत भन्सार कार्यालयहरूलाई आग्रह गरिएको छ।

विभागको उक्त निर्णयप्रति भन्सार एजेन्ट महासंघ नेपाल तथा विराटनगर भन्सार एजेन्ट संघले समर्थन जनाएका छन्। विराटनगर भन्सार एजेन्ट संघले विभागीय निर्देशनको पूर्ण पालना गर्दै भन्सार जाँचपास प्रतिनिधिहरूलाई प्रचलित कानुन, विभागीय निर्देशन तथा पेशागत मर्यादा कायम राखी जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ।

यसैबीच, भन्सार एजेन्ट महासंघ नेपालले पनि विभागको निर्देशनलाई संस्थागत रूपमा स्वागत गर्दै आफ्ना सदस्यहरूलाई कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ। महासंघले अनधिकृत व्यक्तिको संलग्नता नियन्त्रण हुँदा भन्सार प्रणाली थप पारदर्शी, व्यवस्थित र जिम्मेवार बन्ने जनाएको छ।

भन्सार एजेन्ट महासंघ नेपालका सचिव प्रविण जोशीले विभागबाट जारी पत्र अत्यन्त स्वागतयोग्य रहेको बताएका छन्। उनका अनुसार उक्त निर्णयले भन्सारभित्र हुने अनधिकृत प्रवेश तथा गतिविधि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

“भन्सार विभागबाट जारी भएको पत्र अत्यन्त स्वागतयोग्य छ । यसले भन्सारभित्र हुने अनधिकृत प्रवेश र गतिविधि नियन्त्रण हुने हाम्रो बुझाइ छ,” सचिव जोशीले भने।

महासंघले कानुनको पालना, पेशागत मर्यादा र संस्थागत एकतालाई प्राथमिकता दिँदै विभागीय निर्देशन कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्