रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०२, २०८३
रौतहट । रौतहटसँग जोडिएको भारत–नेपाल सीमा नजिकै भारतीय सुरक्षा निकायले एक सोमालियाली नागरिकलाई पक्राउ गरेको छ।
भारतको सशस्त्र सीमा बल (एसएसबी) २०औँ बटालियन, भङ्गहाको टोलीले सोमबार साँझ काफी अली उर्फ हासी अलीलाई सीमावर्ती वैद्यनाथपुर क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
भारतीय बजार घोडासहनबाट बस चढेर वैद्यनाथपुर पुगेका अली सीमावर्ती क्षेत्रमा शङ्कास्पद अवस्थामा देखिएपछि सुरक्षा टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको छ।
एसएसबीका अनुसार उनको साथबाट २५ हजार भारतीय रुपैयाँ नगद, एक थान मोबाइल फोन र माइक्रोफोन बरामद भएको छ। पक्राउपछि उनको राहदानी तथा अन्य आवश्यक कागजातसमेत जाँच भइरहेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा अली भारत–नेपाल सीमा हुँदै नेपाल प्रवेश गर्ने प्रयासमा रहेको आशङ्का गरिएको छ। यद्यपि, उनी नेपाल प्रवेश गर्न खोज्नुको वास्तविक उद्देश्यबारे भने अहिलेसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।
सुरक्षा निकायले उनको यात्रा विवरण, नेपाल प्रवेशको सम्भावित उद्देश्य तथा सीमावर्ती क्षेत्रमा रहेका सम्भावित सम्पर्कका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
विदेशी नागरिक सीमावर्ती क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेपछि घटनालाई सुरक्षा संवेदनशीलताका दृष्टिले हेरिएको छ। घटनापछि सीमा क्षेत्रमा निगरानीसमेत थप कडा पारिएको बताइएको छ।