रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०२, २०८३
विराटनगर / विराटनगरको कोशी राजमार्गअन्तर्गत रोडशेष चोकदेखि बरगाछी चोकसम्म सडकमा अनावश्यक रूपमा खोलिएका क्रस इन्टरसेक्सन बन्द गरिएको छ।
जथाभावी रूपमा सवारीसाधन क्रसिङ गर्दा हुने दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई मध्यनजर गर्दै मंगलबार ११ स्थानमा प्लास्टिकका ट्राफिक कोन राखेर क्रस इन्टरसेक्सन बन्द गरिएको हो।
सम्बन्धित कार्यालयको अग्रसरतामा सडक डिभिजन कार्यालय मोरङसँग समन्वय गरी उक्त क्रस इन्टरसेक्सन बन्द गरिएको जनाइएको छ।
अनावश्यक स्थानबाट सडक पार गर्ने सवारीसाधनका कारण कोशी राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै सडक सुरक्षालाई व्यवस्थित बनाउन यस्तो कदम चालिएको हो।
क्रस इन्टरसेक्सन बन्द गरिएसँगै सवारीसाधनलाई तोकिएका स्थानबाट मात्र सडक पार गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले सवारी आवागमनलाई थप व्यवस्थित बनाउनुका साथै सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।