०७ बैशाख २०८१, शुक्रबार
Tags

बेचबिखनमा परेका ७ जना महिलाको उद्धार, बेचबिखनमा संलग्न २ पक्राउ

रणभूमी शुक्रबार, भाद्र ११, २०७८

पर्सा / भदाै ११, ७ जना युवतीहरूलाई भारतको विहार राज्य स्थित पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो वडा नं. ११ आदापुर बजार भन्ने स्थानमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने सूचना को अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले आफन्त नेपालको सहयोगमा उद्धार गरेर दुर्इ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

भदौ ९ गते बुधवार पर्सा बाट खटिएको प्रहरी टोलीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपाल संस्थासँगको सहकार्यमा सोही स्थानबाट उल्लेखित युवतीको उद्धार गरिएको हो । बेचबखनमा पारेकी महिलाहरूले जाहेरी अनुसार बेच्ने प्रयोजनकोलागी लाने व्यक्तिले अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई विश्वास दिलाएर र झुक्यानमा पारी भारतको छौँडादानो भन्ने स्थानमा लगी मोबाइल फोन खोसेर एउटा अँध्यारो कोठामा नियन्त्रणमा राखी भारतकै विभिन्न स्थानमा पठाई रकम लिई पिडितहरूको इच्छाबिपरीत अशोभनीय पोशाकमा बिनापारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिई श्रमशोषण गरेको र बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको खुल्न आएको कुरा जाहेरीका उल्लेख गरिएको छ ।

पिडित महिलाहरुलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न रहेका दुईजना व्यक्तिहरूलाई हिजो बिहीवार वीरगञ्ज महानगर पालिका-१६ इनर्वास्थित नेपाल-भारत सीमानाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा भारत बिहार जिल्ला पूर्वी चम्पारण, थाना छौँडादानो बस्ने वर्ष २५ को विकास भन्ने विकेश कुमार र धनुषा जिल्ला लगराइन भन्ने स्थानमा घर भई सोही ठाउँ बस्ने वर्ष २४ की ममता कुमारी भन्ने अजिमा खातुनलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा म्याद थप गरी कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता तथा सुचना अधिकारी डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्