
मोहमद अकील बुधबार, बैशाख १०, २०८२

इनरुवा / जिल्ला प्रशासन कार्यालय सुनसरीको सभाहलमा सुनसरी र सप्तरी जिल्लाका सुरक्षा निकायबीच अन्तर जिल्ला स्तरीय सुरक्षा समन्वय बैठक बुधवार सम्पन्न भएको छ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा लगायत दुवै जिल्लाका सुरक्षा समितिका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
बैठकमा दुवै जिल्लाबीचको सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण, अवैध वस्तुको ओसारपसार रोकथाम र सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढीकरण गर्ने विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक तिम्सिनाले दुई जिल्लाबीच सूचना आदानप्रदान तथा समन्वय बढाएर सीमावर्ती क्षेत्रमा हुने अपराध न्यूनीकरण गर्न सहज हुने बताए।
सुनसरी र सप्तरी जिल्लाका सुरक्षा समितिबीच नियमित समन्वय बैठक गर्ने र संयुक्त सुरक्षा अभियान सञ्चालन गर्ने निर्णय समेत बैठकमा गरिएको छ।