१९ बैशाख २०८२, शुक्रबार
Tags

मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरु, वैशाख १४ गते सम्म उजुरी दिन सकिने

रणभूमी डेस्क बुधबार, बैशाख १०, २०८२

काठमाण्डौ / निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। आयोगद्वारा स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकहरूको विवरण समावेश गरी वैशाख १ गतेदेखि नै अद्यावधिक प्रक्रिया शुरु भइसकेको छ।

निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेबसाइट www.election.gov.np मा प्रकाशन गरिएको छ। मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन, कुनै व्यक्तिको विरुद्ध उजुरी दिन, एकभन्दा बढी स्थानमा नाम समावेश भएका मतदाताको एउटा स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन वैशाख ७ गतेदेखि १४ गतेसम्म निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

त्यस्ता निवेदनहरू सम्बन्धित निर्वाचन कार्यालयमा प्रत्यक्ष रूपमा वा अनलाइन माध्यमबाट पेश गर्न सकिनेछ। आयोगले वैशाख मसान्तसम्ममा अद्यावधिक प्रक्रिया सम्पन्न गरी अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भए अनुसार यस अवधिमा पनि नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर रूपमा भइरहने जानकारी गराइएको छ।

आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय तथा मतदाताहरूलाई सहयोग गर्न हार्दिक अनुरोध समेत गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्