१९ बैशाख २०८२, शुक्रबार
Tags

प्रहरीको कारबाहीमा लागुऔषध गाँजासहित तीन जना पक्राउ

रणभूमी डेस्क शनिबार, बैशाख १३, २०८२

बिराटनगर / सुनसरी र संखुवासभाबाट प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट गरी कुल ३३४ किलोग्रामभन्दा बढी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार, बैशाख १२ गते लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान-१३ मा को.१ च ७३३५ नम्बरको स्कार्पियो जाँच गर्दा सवारी भित्रबाट कालो प्लास्टिकमा प्याकिङ गरिएको ३०० किलोग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाडी चालकको खोजतलास गरिरहेको जनाएको छ।

सोही दिन भोक्राहा नरसिंह गाउँपालिका-६ बाट प्रहरी चौकी चिरौलीचोकले को.१६ प ६४७४ नम्बरको स्कुटीमा सवार बराहक्षेत्र नगरपालिका-१ का २८ वर्षीय समिर राई र २८ वर्षीय संजिव राईलाई ३१ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।

यसैबीच, संखुवासभामा पनि लागुऔषध अपराधसँग जोडिएका एक व्यक्तिको घरबाट थप गाँजा बरामद भएको छ। इलाका प्रहरी कार्यालय चैनपुरको हिरासतमा रहेका लागुऔषध मुद्दाका प्रतिवादी धर्मदेवी नगरपालिका-४ का ५९ वर्षीय गोपाल अधिकारीको घरमा खानतलासी गर्दा बाख्राको खोरमा लुकाइराखेको अवस्थामा ३ किलो ११४ ग्राम तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गाँजा र पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्