
रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

विराटनगर / पूर्वी नेपालका विभिन्न जिल्लाहरू भोजपुर, धनकुटा, झापा, मोरङ र सुनसरीबाट प्रहरीले छुट्टाछुट्टै अभियानमा प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित १२ जनालाई पक्राउ गरेको छ।
सुनसरीको धरान उपमहानगरपालिका-१३ मा लागू औषध कारोबारको गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले ३० वर्षीय मिलन लिम्बुलाई ठूलो परिमाणमा प्रतिवन्धित औषधी सहित नियन्त्रणमा लिएको छ। उनको साथबाट ट्रामाडोल ३,०९० क्याप्सुल, डाइसाइक्लोमिन ३,०७० ट्याब्लेट र डाइजेपाम ३० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।
मोरङको बिराटनगर-१५ मा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले चेकजाँचका क्रममा तीन जना युवालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ कानेपोखरी-४ का १९ वर्षीय हेमराज विश्वकर्मा, १८ वर्षीय सुदिप विश्वकर्मा र सुनसरी इटहरी-४ का १९ वर्षीय एलेक्स सुबेदी रहेका छन्। उनीहरूको साथबाट ३ ग्राम १ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
प्रहरी चौकी गछियाले सुन्दरहरैचा-३ का चार जनालाई प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय गोवर्धन गुरुङ, २६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई र २० वर्षीय विशाल उराउ रहेका छन्। उनीहरूको साथबाट ट्रामाडोल १,३३० ट्याब्लेट र १ ग्राम १८ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
झापामा इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी-८ का २७ वर्षीय सुनिल लिम्बुलाई १५० क्याप्सुल ट्रामाडोल सहित पक्राउ गरेको छ। त्यसैगरी, प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा-८ का ३२ वर्षीय अर्जुन राजवंशीलाई ४ ग्राम ४ मिलिग्राम ब्राउन सुगर र ९ एम्पुल प्रतिवन्धित औषधी सहित नियन्त्रणमा लिएको छ।
धनकुटा छथरजोरपाटी गाउँपालिका-६ मा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले स्थानीय २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बुलाई २१० मिलिग्राम ब्राउन सुगर र ८ क्याप्सुल निषेधित औषधी सहित पक्राउ गरेको छ।
भोजपुरमा प्रहरी चौकी हसनपुरबाट खटिएको टोलीले हतुवागढी गाउँपालिका-९ बाट ७५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।
पक्राउ परेका सबै व्यक्तिहरू विरुद्ध लागू औषध नियन्त्रण ऐन अन्तर्गत कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।